काठमाडौं- तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि खरिद सम्झौता भएको छ।
पहिलो प्याकेजका निर्माण कार्यका लागि न्यूनतम मूल्याङ्कित तथा सारभूत रुपमा प्रभावग्राही सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीबीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सोङ्ग दा-कालिका जेभीका प्रतिनिधि विक्रम पाण्डेले हस्ताक्षर गरेका छन्। कम्पनीसँग १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक)मा खरिद सम्झौता भएको हो।
ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको प्रबन्ध सञ्चालक थिकेले बताए।
आयोजनाको प्याकेज १ (हेडवर्क्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना इटालीसँग २०७५ असोज १५ गते भएको खरिद सम्झौता रद्द भएपश्चात कम्पनीले २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो। कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैंकको खरिद निर्देशिका अनुरुप २०७६ फागुन १६ मा दोस्रोपटक पुनः बोलपत्र आह्वान गरेको थियो।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारी रोकथाम र नियन्त्रणका लागि सरकारद्धारा जारी गरिएको देशव्यापी बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लागू गरिएको प्रतिबन्धका कारण पटक-पटक बोलपत्र पेस गर्ने म्याद थप गरिएको थियो। अन्ततः तीनवटा अन्तर्राष्ट्रिय बोलपत्रदाताहरुले बोलपत्र पेस गरेकोमा प्राविधिक बोलपत्रहरुको मूल्याङ्कनपश्चात् सारभूत रुपमा प्रभावग्राही दुईवटा बोलपत्रदाताहरुको आर्थिक बोलपत्र खोलिएको थियो। आर्थिक बोलपत्रहरुको मूल्याङ्कनपश्चात न्यूनतम मूल्याङ्कित सोङ् दा-कालिका जेभीको बोलपत्र स्वीकृत गरी खरिद सम्झौता गरिएको आयोजनाले जानकारी दिएको छ।
आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ। ठेकेदार कम्पनीले केबुल सुरुङ खन्ने काम सम्पन्न गरी भूमिगत विद्युतगृह खन्ने काम गरिरहेको छ। त्यसको अतिरिक्त सर्च ट्यांकतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य गरिरहेको छ।
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माण कार्य जारी रहेको छ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।