काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको आजको बैठकले अबका बैठकमा काठमाडौं-तराई द्रूतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको छ।
प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्षरुपमा प्रभाव पार्ने आयोजनामा छलफल गर्ने योजना बनाएको हो। अब बस्ने बैठकमा द्रूतमार्गका विषयमा रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल गर्ने योजना बनाएको समितिका उपसचिव ओमबहादुर कार्कीले बताए। उनका अनुसार यही चैत ८ वा ९ गते बैठक बस्नेछ।
त्यसपछि क्रमशः मेलम्ची खानेपानी आयोजना र बाहिरी चक्रपथको विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल हुने उनले जानकारी दिए। उपसचिव कार्कीले भने, 'बैठकमा सहभागी माननीयहरूले बढी समस्या देखिएका विषयमा छलफल गर्दै जान सुझाव दिनुभएको छ।'
यसअघि गत पुस २ गते समितिको बैठक बसेको थियो। प्रतिनिधिसभा पुनर्स्थापनापछिको पहिलो बैठकमा समितिका सदस्यहरूबीच मात्रै छलफल भएको छ। अब बस्ने बैठकहरूमा भने समितिले हेर्ने मन्त्रालयहरूका प्रतिनिधिलगायत सरोकार राख्ने संस्थाका प्रतिनिधिसमेत सहभागी हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।