काठमाडौं– लेखक गणेशप्रसाद लाठको नयाँ पुस्तक ‘क्षमादान’ सार्वजनिक हुने भएको छ। पुस्तकले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ।
‘सिमित नाम लिँदा, मधेशले धनुषचन्द्र गौतमदेखि बिमल निभासम्मका केही उत्कृष्ट लेखकहरू पाएको छ। उनीहरूका कृतिले मधेशको सौन्दर्यशास्त्र र काव्यात्मकतालाई बडो चमत्कारी ढंगले व्यक्त पनि गरेका छन् तर एउटा पाठकको रुपमा, जो पेशाले एउटा व्यवसायी छ, नेपालीमा प्रकाशित हुने अधिकांश किताबमा म आफूलाई भेट्दिन,’ पुस्तक लेखनको सन्दर्भ कोट्याउँदै लेखकले भने, ‘साहित्यमा व्यावसायिक वर्ग कि त पूरै अनुपस्थित थियो कि निमित्त पात्रका रुपमा मात्र पन्छाइएका थिए। म मेरो कथाको माध्यमबाट तिनै परिवारहरूको मानवीय पक्षलाई खोतल्न चाहन्थेँ।’
प्रजातन्त्र स्थापना कालपछिको नवोदित शहर वीरगञ्जमा हुर्किएका लाठको बाल्यकाल चलचित्रको सानिध्यमा बित्छ। लाठलाई चलचित्रले अपनाउने कथावाचन र त्यसले गर्ने प्रभावकारी अपीलले निकै प्रभावित बनाउँछ। त्यसैले यस किताबले त्यही नाटकीय शैलीलाई अंगालेको पाउँदा त्यति आश्चर्य लाग्दैन। रोमान्टिक सामाजिक नाटक रुचाउने पाठकका निम्ति यो कथाशैलीले आकर्षित गर्ने कुरामा लेखक विस्वस्त देखिन्छन्।
‘हामी बहुमुखी आवाजहरूलाई प्रकाशित गर्नमा प्रतिबद्ध छौं’, प्रकाशनका तर्फबाट भूषिता वशिष्ठले सम्पादकीय टिप्पणी गर्दै भनिन्। ‘जनसंख्याका हिसाबले देशको महत्वपूर्ण क्षेत्रमा रहेका व्यावसायिक परिवारको कथावस्तुलाई लेखकले सटीक पाराले उजागर गरेका छन् जुन समुदाय विगतका केही दशकदेखि राजनैतिक अस्थिरताले सम्भवतः सबैभन्दा धेरै प्रभावित भएको छ। उनीहरूको कथा र यसको विकासक्रम सम्पूर्ण नेपाली कथा संसारको महत्वपूर्ण अंग हो जुन अझै पनि साहित्यमा पर्याप्त ढंगले परिलक्षित भएको छैन। यस पुस्तकले त्यही अभावलाई सानै रुपमा भए पनि पूर्णतारित डोर्यािउँछ भन्ने आश राख्छौं।’
लाठ, वीरगन्जलाई प्रतिनिधित्व गर्ने नेपालय पब्लिकेसन्सका दोस्रो लेखक हुन्। यस पब्लिकेसन्सबाट ‘वीरगन्ज’ शीर्षकमै सन् २०१६ मा गिरीश गिरिको ननफिक्सन प्रकाशित भएको थियो।
‘हामी यही किताबका साथ मधेस जादैछौ र त्यहीँबाट हाम्रो यस वर्षको प्रकाशन यात्रा शुरु हुँदैछ। यो हाम्रा निम्ति एउटा सार्थक अवसर हो। महामारी र लकडाउन खेपेको पुस्तकबजारले नौलो चहलपहलका निम्ति आवाज उठाइरहेको छ।’ पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले भनिन्। ‘पुस्तक बजार बिस्तार नयाँ किताबका निम्ति तयार भएको देखिन्छ। आशा छ ‘क्षमादान’ ले पाठकहरूलाई आकर्षित गर्ने छ।’
नेपाली बजारका निम्ति गणेशप्रसाद लाठको पुस्तक ‘क्षमादान’ को मूल्य ४९५ रुपैयाँ तय गरिएको छ। किताब देशका प्रमुख पुस्तक पसलहरूमा सहज उपलब्ध हुनेछ। पुस्तकलाई ई–बुकका रुपमा थुप्रै डट कमबाट र अमेजनमार्फत् किन्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।