काठमाडौं- चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा समावेश गरिएको किसान क्रेडिट कार्ड र कृषि ऋणपत्र जारी गर्ने व्यवस्था बुधबारबाट कार्यान्वयनमा आएको छ। कृषि विकास बैंकले आफ्नो ५४ औं वार्षिकोत्सवको अवसरमा बुधबारबाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। बैंकले पहिलो दिन २ दर्जन किसानलाई क्रेडिट कार्ड उपलब्ध गराएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा (लिड) बैंकका रुपमा विकास गर्ने उल्लेख गरेको थियो। त्यस्तै कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गर्ने व्यवस्था मिलाइने पनि उल्लेख थियो।
२४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रले कृषि क्षेत्रमा थप वित्तीय साधन परिचालन हुनुका साथै बैंक तथा वित्तीय संस्थालाई कृषि ऋणपत्रमा लगानीमार्फत गरिएको कृषि कर्जा अनुपात कायम गर्न सहज हुने विश्वास गरिएको छ।
त्यस्तै कृषकलाई वित्तीय साधन र कृषिसम्बन्धी सूचना तथा जानकारी उलपब्ध गराउन कृषि विकास बैंकमार्फत् ‘किसान क्रेडिट कार्ड’ को व्यवस्था गरिने कुरा पनि मौद्रिक नीतिमा उल्लेख थियो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अरु वाणिज्य बैंकसँग प्रतिस्पर्धी हुनुपर्ने अवस्था एकातिर हुँदाहुँदै कृषि क्षेत्रमा केही थप काम गर्नका लागि राष्ट्र बैंकले कृषि विकास बैंकलाई अग्रणी भूमिका दिएको बताए। ‘हामीले कृषि क्षेत्रमा यो बैंकको अग्रणी भूमिकाको अपेक्षा गरेका छौं। त्यसका लागि आवश्यक श्रोत साधन उपलब्ध गराउने जिम्मा राष्ट्र बैंकको हो,’ गभर्नर अधिकारीले भने।
‘कृषि बन्ड ल्याओस् भनेर नीतिगत व्यवस्था भएकोमा राष्ट्र बैंकको संचालक समितिबाट त्यो पास भइसकेको छ। यो बन्डमार्फत् अरु थप श्रोत जुटाउनतिर लाग्नुस्।’
कृषि विकास बैंकले कृषिसँग सम्बन्धित वित्तीय तालिमलाई अगाडि बढाउनुपर्ने पनि गभर्नर अधिकारीको भनाइ छ। ‘अरु बैंक तथा वित्तीय संस्था र किसानलाई पनि प्रशिक्षित गर्नुहोस्। कृषि विकास बैंकसँग त्यो क्षमता र संरचना छ। श्रोत छ‚’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।