डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको डडेल्धुरास्थित आलिताल गाउँपालिका-३ मा पर्छ, आलिताल। चुरे डाँडाले घेरिएको ताललाई वरिपरिबाट सुन्दर हरियाली वनले ढाकेको छ। डडेल्धुरा जिल्ला सदरमुकामबाट आलिताल पुग्न गाडीमा करिब ३–४ घन्टा लाग्छ।
_x000D__x000D_
समुद्री सतहबाट ८ सय मिटर उचाइमा रहेको आलितालको लम्बाइ एक हजार १७५ मिटर छ भने चौडाइ करिब ४ मिटर छ। पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको आलिताल उचित संरक्षण र संवर्द्धन नहुँदा भने अझै ओझेलमै छ।
_x000D__x000D_
डडेल्धुराको आलिताल गाउँपालिका (साबिकको आलिताल गाविसको गोदाम बजार) को मुख्य सडकबाट ३ किलोमिटर टाढा रहेको ताललाई व्यवस्थित गरी प्रचारप्रसार गर्ने हो भने थुप्रै आन्तरिक पर्यटक भित्र्याई आम्दानी लिन सकिने सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भानबहादुर सुनार बताउँछन्।
_x000D__x000D_
_x000D__x000D_
हाल तालको किनारमा एउटा मन्दिर निर्माण गरिएको छ। गत वर्ष डुंगा सञ्चालन गरेको र यो आर्थिक वर्षमा महोत्सव नै लगाउने तयारी भएको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए।
_x000D__x000D_
पर्यटन वर्ष २०११ मा आलिताल पर्यटन विकास समाज गठन गरिए भए पनि कामविहीन छ। ताल विकासका लागि कुनै ठोस योजना नभएको स्थानीयवासी बताउँछन्। सुरुका वर्ष ताल वरिपरि पर्खाल लगाउनुका निकासलाई व्यवस्थित गर्ने प्रयास गरिए पनि पछिल्ला समय खासै काम नभएको केशव साउदले बताए।
_x000D__x000D_
_x000D__x000D_
‘आलिताल’को इतिहास
_x000D_करिब ४–५ दशक पहिले यस ताल भएको ठाउँमा १५–१६ परिवारको बस्ती थियो। त्यसै गाउँमा बसोबास गर्ने एक विवाहित महिलाले ठूलो राँगो टाउकोमा दियोबत्ती बालेर आएको देखिन्। उक्त राँगोले भनेछ, 'यहाँ भोलि पानी पर्नुका साथै ठूलो हावाहुरी आउँछ। त्यसपछि ठूलो तलाउ बन्ने भएकाले बसाइँ सरिहाल्नू, नत्र ठूलो आपतविपत निम्तिनेछ।'
_x000D__x000D_
उज्यालो भएसँगै उनले घर–परिवारलाई सपनाबारे सुनाइन्। तर उल्टै उनलाई 'नभएको कुरा गर्ने' भन्दै गाली गर्न थालेछन्।
_x000D__x000D_
_x000D__x000D_
त्यसको ठिक दोस्रो दिन ती महिलाको घरमा रोपाइँ रहेछ। ‘तिमी खाना पकाउनू। हामी खेतमा रोपाइँ गर्न जान्छौं’ भनेर घरका सदस्यका साथै गाउँलेहरु गोरु, हलो, कुटो, कोदालो लिएर खेततिर लागेछन्।
_x000D__x000D_
उनी भने खाजा तयार गर्न घरमै बसिछन्। मध्याह्नको समय खाजा लगेर खेतमा जाने बेला ठूलो हावाहुरीसहित पानी पर्न सुरु भयो। जब उनी खेतनेर पुगिन्, सपनामा देखेकै राँगो विपना देखिछन्। उनी अत्तालिएर त्यहीँ ढलिन्। ठूलो पानीका कारण उक्त क्षेत्र जलमग्न हुन पुग्यो र रोपाइँ गर्न गएका सबै डुबे। त्यसपछि यहाँ ठूलो ताल बन्न पुग्यो।
_x000D__x000D_
आलितालमा पहिलेपहिले तीर्थयात्रीहरु पनि आउने गरेका बूढापाका बताउँछन्। भोक लागेका बेला यात्रीले जे विचार गर्यो सो खानेकुरा तालको किनारमा आउने गर्थ्यौ भन्ने कथन पनि छ।
_x000D__x000D_
_x000D__x000D_
मागेको कुरा खाइसकेपछि भाँडोलाई सफा गरी धोएर मात्र तालमा डुबाउनुपर्ने थियो। एक दिन एक ऋषिले खीर खाएछन् र ताउलो सफा नगरी तालमा राखिदिएछन्। त्यही दिनबाट तालमा पुगेर कुनै पनि व्यक्तिले सोचेको खानेकुरा पाकेर आउन छोडेको भन्ने पनि अर्को किंवदन्ती छ।
_x000D__x000D_
_x000D__x000D_
यस्ता अनेकौं किंवदन्तीमा बाँचेको आलिताल अब संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।