गच्छदारलाई उपसभापति बनाएकोमा प्रकाशमान असन्तुष्ट, देउवालाई दिए चेतावनी

Nepal Live

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

नेता सिंहले पार्टी विधानको प्रावधानविपरीत सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापतिमा मनोनीत गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। काठमाडौंको जोरपाटीस्थित नयाँबस्ती युवा क्लवले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सभापति देउवाले अप्रजातान्त्रिक ढंगले आफूखुसी गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने निर्णय गरेको भन्दै आक्रोश पनि व्यक्त गरे।

नेता सिंहले सभापति देउवालाई पार्टीलाई विधि र विधानसम्मत ढंगले अघि बढाउन पनि चेतावनी दिएका छन्। आफूसँग बहुमत छ भन्दैमा सभापति देउवाले जथाभावी गर्दै हिँडेको नेता सिंहको आरोप छ।

मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनीत गरेको थियो।

नेता सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाएर जनतालाई राहत दिने र मुलुकको आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने सशक्त पार्टीको रुपमा विकास गर्न पार्टी नेतृत्वलाई दबाब दिनुपरेको पनि स्पष्ट पारे।

पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले कामै गर्न नसकेको भन्दै सरकारको पनि चर्को आलोचना गरे।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार