काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीको पार्टी एकताप्रति आपत्ति जनाएका जिल्ला नेता रामबहादुर चौहानले जिल्ला कार्यदलको प्रतिवेदन नमान्ने बताएका छन्।
पार्टी एकीकरणका क्रममा आफू पहिलो प्राथमिकतामा हुनुपर्नेमा जिल्ला कार्यदलले नवौं स्थानमा रहेका पिताम्बर भुसाललाई अध्यक्षमा सिफारिस गरेको भन्दै आपत्ति जनाए। एकीकरण प्रक्रिया प्रति असन्तुष्टि जनाउन राजधानी आएका चौहानले मापदण्ड मिचिएको विषयलाई सबैभन्दा पहिले आफूले उठाएको दाबी गरे।
उनले भने, ‘मैले आवाज उठाइसकेपछि मेरो अभियानमा वरिष्ठ नेता माधवकुमार नेपालले साथ दिनुभयो।’ सो सम्बन्धमा आफ्ना असन्तुष्टि व्यक्त गर्न शिर्ष तहका अधिकांश नेतालाई भेटेको उनले जानकारी गराए।
जिल्ला नेतृत्वको नाम सिफारिस गर्ने क्रममा जिल्ला इन्चार्ज र अध्यक्षले केन्द्रलाई गुमराहमा पारेको उनले आरोप लगाए। केन्द्रले बनाएको मापदण्ड अनुसार पहिलो र दोश्रो बरियतामा रहेका व्यक्ति निर्वाचित भएकाले आफू नै जिल्ला अध्यक्षको निर्विकल्प दाबेदार रहेको उल्लेख गरे। एकीकरणको विधि र प्रक्रिया कार्यदलले मिचेको आरोप लगाउँदै उनले भने, ‘कार्यदलका सदस्यले केन्द्रीय नेतृत्वको निर्देशनलाई अवज्ञा गरे। जिल्ला अध्यक्ष चेतनारायण आचार्य र इन्चार्ज नजिर मियाले केन्द्रको निर्देशन उल्लंघन गरेका छन्।’
२०३८ सालदेखि पार्टीमा आवद्ध रहेका चौहान गत निर्वाचनमा जिल्लाको निर्वाचन परिचालन कमिटीको सचिव थिए।
प्रदेश ५ का जिल्लाहरुमा नेतृत्व विभाजन गर्दा अर्घाखाँची पूर्व एमालेको भागमा परेको थियो। प्रदेश ५ मा दुई पार्टी एकीकरणमा सबैभन्दा बढी किचलो उत्पन्न भएको छ। माधव नेपाल पक्षधरका नेताहरुलाई पाखा लगाइएको भन्दै दाङ, रुपन्देही, बांके लगायतका जिल्लामा पनि विवाद देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।