काठमाडौं– नेपाली कांग्रेसका सांसद दिव्यमणिराज भण्डारी प्रतिनिधिसभाको विशेष समयमा बोल्दै ‘निजगढ विमानस्थलअन्तर्गत ७ लाख रुख के जोगाउनका लागि काटिन लागिएको हो?’ भन्दै संसदमा जानकारी माग गरेका छन्।
२०३६ सालमा निर्दलीय व्यवस्था टिकाउन जङ्गल मासिएको घटना स्मरण गराउँदै उनले भने, ‘पूर्वका वामपन्थी नेतालाई उक्त घटना थाहा भएकाले यसलाई रोक्नु हुन्छ होला।’ अहिले फेरी सोही स्वरुपमा के टिकाउन ७ लाख रुखको हत्या गर्न लागिएको हो त्यसको बारेमा सदनमा जानकारी हुनुपर्ने उनल माग गरे।
नेपाल वायुसेवा निगमको विमान खरिद प्रक्रिया पनि शंकास्पद भएको भन्दै उनले त्यसमा सरकारको ध्यानाकर्षण गराए। ‘७ साना विमान नचलाई निगमले थन्काएर राखेको राखेको छ। किन यो थन्काएर राखेको हो’, उनले भने, ‘के यो सुन र चाँदी हो।’ भएका जहाजहरुलाई सदुपयोग नगर्ने तर नयाँ खरिद गरिराख्ने प्रक्रिया चलिरहनु निगमलाई दुहुनो गाई बनाई डुबाउने खेल भएको उनले आरोप लगाए।
सांसद चन्दा चौधरीले सुनमा झैं ठूला मान्छे जोडिएर निर्मलाको हत्यारा लुकाउन खोजिएको भन्दै आशंका व्यक्त गरिन्। सांसद चौधरीले प्रश्न गरिन्, ‘३८ सय किलो सुन तस्करीमाझैं ठूला मान्छेहरुको संलग्नता देखेपछि निर्मला पन्तको हत्यारालाई पनि पक्राउ नगरिएको हो?’
विशेष समयमा बोल्दै उनले निर्मला पन्तको हत्यामा दोषी पत्ता नलाग्दै अर्का दुई महिला बलात्कारमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरिन्।
छानबिनमा संलग्न सिआइवी टोलीका सदस्य आफैपनि निलम्वन हुनुले शंका बढाएको भन्दै उनले भनिन्, ‘बालिका र महिला बलात्कार साँच्चै कतै सुनकाण्डसँग जोडिएको त छैन? ठूला–ठूला मान्छे संलग्न भएकाले यसलाई जोगाउने लागिएको त हैन?’
उनले महिला हिंसा र महिलामाथि अपमान गर्ने अभिव्यक्ति दिने जिम्मेवार व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरिन्।
सांसद दुर्गा पौडलले सादा पोसाकमा रहेकी महिला प्रहरीलाई सुरुवाल धुने र गुप्ताङ्ग पखाल्ने कार्य गराइएको प्रति सरकारको ध्यानाकर्षण गराइन्। ‘यो प्रकरण जति माथि जान्छ, उति नै सरकारको साख खस्कन्छ’, उनले भनिन्, ‘यो प्रकरणमा उच्च व्यक्ति संलग्न रहेकोमा कुनै शंका बाँकी छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।