सम्पदा बस्तीका घर पुनर्निर्माण गर्न ५० हजार अनुदान थप

Nepal Live

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शुक्रबार बसेको कार्यकारी समितिको बैठकले काठमाडौं उपत्यकाभित्रका खोकना, बुङमती, सांखु, किलागलजस्ता परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट, गोरखा दरबार क्षेत्र एवम् दोलखाको भीमसेन बजारजस्ता क्षेत्रहरुमा परेका बस्तीको पुनर्निर्माण मौलिक स्वरुपमा गर्ने निर्णय गरेको छ।

बैठकले ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकास लगायतमा पूर्वाधारहरुको पुनर्निर्माण गर्नका लागि सरकारले प्राधिकरणमार्फत् नै लगानी गर्ने निर्णय पनि गरेको छ। त्यस्ता बस्तीमा रहेका निजी आवास पुनर्निर्माण गर्नुपर्ने घरधनीलाई मौलिक/पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय बैठकले गरेको छ।

त्यसैगरी, कार्यकारी समितिले २ वा २ भन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजहरूलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको संख्या गणना गरी अनुदान रकम उपलब्ध गराउनेसमेत निर्णय गरेको छ।

साथै, काठमाडौं उपत्यकाभित्रका बस्तीहरुमा लाभग्राही सूचीमा परेका घरहरुको पुनर्निर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय पनि प्राधिकरण कार्यकारी समितिले गरेको छ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार