राजविराज– कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको अर्नाको आक्रमणमा परी बिहीबार सप्तरीमा दुई बालिका गम्भीर घाइते भएका छन् ।
अर्नाको आक्रमणबाट महादेवा गाउँपालिका– ४, बलियाकी ८ वर्षीया सञ्जो खंग र १० वर्षीय एन्जिला खंग घाइते भएका हुन् । खेलिरहेको अवस्थामा अर्नाले आक्रमण गरी उनीहरुलाई घाइते बनाएको स्थानीय सुरेन्द्र यादवले वताए ।
हात तथा तिघ्रामा चोट लागेका बालिकाको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा अर्नालाई लखेटिएकोे छ ।
यसअघि २०७४ भदौ २६ गते सप्तकोशी नगरपालिका–५ सदा बस्तीका ५० वर्षीय झपड सदालाई अर्नाले घाइते बनाएको थियो ।
बाख्रालाई घाँस काट्न गएका बेला बाँसघारीमा बसेको अर्नाले आक्रमण गर्दा पेटमा चोट लागेर सदा गम्भीर घाइते भएका थिए ।
सप्तरीमा हात्ती, अर्नालगायतका जंगली जनावरको आक्रमणबाट वर्षेनि सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन्। हालसम्म कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, वैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका–१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी सङ्गीता यादवलगायतको हात्ति र अर्नाको आक्रमणबाट ज्यान गइसकेको छ।
आरक्षका हात्ती, अर्ना, बँदेललगायतका वन्यजन्तुबाट जिल्लाको पूर्वी भेग भारदह, कञ्चनपुर, पोर्ताहा, बरमझिया, वैरवा, जोगिनिया, हनुमाननगर, फत्तेपुर, ओद्राहा, कमलपुर, धरमपुर, घोघनपुर, रुपनगर ठेलिया, जगतपुर, महुली लगायत ठाउँका जनता पीडित हुँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।