काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तर्गतका संगठन तथा प्रदेश समिति एकीकरण जिम्मा दुई अध्यक्षलाई दिने निर्णय गरिएको छ। सो निर्णयसँगै नेकपाका भातृ संगठन तथा प्रदेश समितिलगायतको एकीकरण प्रक्रिया अझै लम्बिने भएको छ।
बुधबार र बिहीबार गरी दुई दिनसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि एकीकरणको जिम्मा दुई अध्यक्षलाई दिने निर्णय गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपाको तल्लो तहको एकीकरण प्रक्रिया नेतृत्व बाँडफाँडको मुद्दामा अल्झिएको बुझिएको छ।
प्रवक्ता श्रेष्ठका अनुसार एकीकरणको नयाँ मापदण्ड बनाएर सचिवालय बैठकमा पेस गर्ने गरी दुई अध्यक्षलाई जिम्मा दिइएको हो।
बिहीबार अपरान्हसम्म ६ वटा प्रदेशले आ–आफ्नो प्रतिवेदन सचिवालयलाई बुझाइसकेका छन्। तर, प्रदेश २ ले भने हालसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन। नेतृत्व कसले लिने भन्ने विवाद बढेपछि विद्यार्थी, युवा, महिला र मजदुर संगठनले एकीकरणको प्रतिवेदन बुझाउन नसकेका हुन्।
दुई अध्यक्षको बैठक शुक्रबार बिहान बालुवाटारमा बस्ने बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।