काठमाडौं– प्रकाश थापा फिल्म 'कन्यादान' निर्देशनको तयारीमा थिए। त्यसबेला फिल्मका लागि चार-पाँच गीत त अनिवार्य जस्तै थियो। उनी यसकै लागि उत्कृष्ट गीतकारको खोजीमा थिए। यही क्रममा भेट भयो चेतन कार्कीसँग। चेतनसँग उनको पुरानो मित्रता थियो।
छोरा विजयसहित थापा एकदिन जावालाखेलस्थित कार्कीको घरमा पुगेर आग्रह गरे, फिल्मका लागि गीत लेख्न। 'नयाँ फिल्म बनाउँदै छु। यहाँले दुई–चार वटा गीत लेख्दिनुपर्यो,' कार्कीसामु उनको प्रस्ताव थियो।
त्यसबेला नेपाली फिल्ममा सर्वाधिक गीत लेख्ने र सबैले गने–मानेका गीतकार थिए, किरण खरेल। प्रकाश थापा र उनको जुगलबन्दी निकै गहिरो थियो।
'किरणजीलाई लेख्न नलगाएर यिनीहरू किन मकहाँ आए भनेर सुरुमा त म छक्क परेको थिएँ,' कार्की सुनाउँछन्, 'यो कुरा जान्न पनि चाहेँ। प्रकाशजीले प्रस्ट्याउनुभयो, 'उहाँ (किरण खरेल) ले नै तपाईंलाई लेख्न लगाउनु भनेर सिफारिस गर्नुभएको हो।'
'फिल्मकी नायिका (गौरी मल्ल) बालविधवा हुने, सासूको टोकसो, तीजका बेला साथीसंगी रमाएको देख्दा उनलाई पनि तीजमा चुरापोते, रातो सारी लगाएर नाच्न मन लाग्ने र त्यसको कल्पना गरेको अवस्थालाई चित्रण गर्नेगरी गीत लेखिदिनुपर्यो' भनेर निर्देशक थापाले प्रस्ट्याएपछि कार्की लगभग सहमत भए।
रातिको त्यस्तै साढे ९ बजेको हुँदो हो। कापीकलम लिएर उनी गीत लेख्न बसे। तीज–गीत! कस्तो शैलीको लेख्ने होला? दिमाग निकै बेर खेलाए। 'त्यसबेला मैले गण्डक क्षेत्रमा लोकप्रिय तीज–भाकाबारे सम्झिएँ। त्यहाँ 'बरिलै'का भाका प्रचलित छन्। 'बरिलै'लाई नै थेगो बनाएर गीत लेख्न थालेँ,' कार्की करिब तीन दशकअघि फर्किए, 'त्यहाँका ठेट शब्दावली प्रयोग गर्दा थप आकर्षक हुने ठानी 'सैनी', 'छिड्केरी' आदिलाई गीतमा समेटेँ। अनुप्रासका मामिलामा मैले निकै ध्यान पुर्याएको थिएँ। यसो गर्ने हुँदा एक ठाउँमा अलि गडबड भएको छ। अन्तिम हरफको अन्तिम लाइनमा हर्ताको सट्टा हर्त भनिएको छ।'
व्रतसँग अनुप्रास मिलाउनका त्यस्तो लेखिए पनि गीतसंगीतको मामिलामा यस्तो 'चल्ने' उनले तर्क गरे।
लेखन कार्य त सकियो। पछि उनले निर्देशक थापालाई बुझ्दा यस गीतका गायक र संगीतकार मनोहरि सिंह र सुषमा श्रेष्ठ रहेछन्। दुवै भारतीय मूलका।
'भारतीयलाई नेपालको 'तीजे–लोकभाका'बारे के थाहा होला र भनी मैले आफ्नै स्वरमा यो गीतलाई टेपमा रेकर्ड गरेर रफ–डमी पठाइदिएँ,' गीतकार कार्कीले सम्झिए, 'प्रकाशजीले बम्बई लगेर यसको रेकर्डिङ गराउनुभयो। उताबाट आएपछि गीत अलि फरक शैलीको भएको मैले महसुस गरेँ। मनोहरिजीले मेरो लयलाई केही इम्प्रोभाइज्ड गर्दिनुभएछ। गायिका र बम्बईका कोरसको स्वर पनि मिठो लाग्यो मलाई।'
'कन्यादान' फिल्म रिलिज भएपछि यो गीत बाहिर आयो। नेपालका चर्चित नायिकाले गीतअनुरुप न्याय गरेको भन्दै धेरै प्रशंसा भयो। गीतलाई त्यसबेलाका स्रोताले कति रुचाए होलान्, अहिलेको लोकप्रियताले नै प्रस्ट पार्छ।
हरेक तीज आउनासाथ यही गीत पहिलो रोजाइमा पर्छ। तीज यो गीत पर्याय जस्तै बनिसकेका छन्।
गीतमा नौ डाँडा काटेर गएका चेलीबेटीको पुनर्मिलनको अवसर– तीज र यसको तामझाम आदिबारे बताएको छ। 'तीजको रहर' जति चर्चित भयो, यसका शब्दका बारे पनि उति नै चर्चा भए। कसैले 'रहर'लाई 'लहर' भनेर गाए, कसैले सैनीको अर्थ नै नबुझेको बताउँछन् कार्की। 'महिला मितिनीलाई गण्डक क्षेत्रमा सैनी भन्छन्। धेरैले यसको अर्थ बुझेनन्,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।