भैरहवा– रुपन्देही जिल्लामा कार्यरत एक प्रहरी जवानले एउटा घटनाको केस मिलाइदिन्छु भन्दै आर्थिक लाभ लिए।
घटनाको अनुसन्धानको क्रममा प्रहरी जवानले केस मिलाइदिन्छु भन्दै आर्थिक लाभ लिएको बारे जिल्ला प्रहरी कार्यालयमा जानकारी भएपछि उनलाई प्रहरी सेवाबाट नै हटाइयो। प्रहरीमा यो ठूलो कारबाही हो।
त्यस्तै, अपराधको सफल अनुसन्धान, जनतालाई मुस्कान सहितको सेवा दिएको, चेन अफ कमाण्डमा रहेर काम गरेको, फिल्डमा राम्रो लगायत विभिन्न उत्कृष्ट काम गरेको कारण जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेल सहित ३ जना प्रहरी नायब उपरीक्षक पुरस्कृत भए।
एकजना प्रहरीका कारण प्रहरी संगठन नै बदनाम हुने हुदाँ संगठनले प्रहरी आचारण विरुद्ध काम गर्नेलाई कारबाही र उत्कृष्ट काम गर्ने प्रहरीको मनोबल बढाउने उद्देश्यले पुरस्कृत गर्दै आएको छ।
५१ जनालाई कारबाही, ४० जना पुरस्कृत
गतआर्थिक वर्ष ०७४/०७५ मा रुपन्देही जिल्लामा कार्यरत प्रहरी कर्मचारीदेखि लिएर अधिकृतसम्म ५१ जनालाई कारबाही र ४० जनालाई पुरस्कृत गरिएको रुपन्देही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीषक कुमोद ढुंगेलले जानकारी दिए।
उनका अनुसार जिल्लामा ५१ जना प्रहरीलाई भएको कारबाही मध्ये ४ जनालाई सेवाबाट हटाइएको छ। सेवाबाट हटाइएका चारै जना प्रहरी जवान हुन्।
त्यस्तै ५ जनालाई तल्लो टाइम स्केलमा घटुवा गरिएको छ। जसमध्ये १ जना प्रहरी नायब निरीक्षक, २ जना प्रहरी साहयक निरीक्षक, १/१ जना हबल्दार र जवान रहेका उनले बताए।
यस्तै १ जना प्रहरी निरीक्षक सहित १ जनाप्रहरी सहायक निरीक्षक र १/१ जना हबल्दार÷ जवान गरी ४ जनालाई ग्रेड घटुवा कारबाही गरिएको छ। त्यस्तै ४ जनालाई निलम्बन समेत गरिएको छ।
जसमध्ये १/१ जना प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र २ जना प्रहरी जवान रहेका छन्। २६ जनाले नसिहद पाएका छन्।
जसमध्ये २ जना प्रहरी नायब निरीक्षक, ३ जना प्रहरी सहायक निरीक्षक, ६ जना हबल्दार र १५ जना जवान रहेका छन्।
१ जना प्रहरी जवानको पदोन्नति रोक्का गरिएको छ भने ३ जनासगँ प्रतिकुल राय लिइएको र ४ जनलाई सख्त चेतावनी दिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
कारबाहीमा पर्ने अधिकांश प्रहरीहरू मादक पदार्थ सेवन गरी ड्युटी गर्ने, आर्थिक अनियमितता, समयमा काम नगर्ने, चेन अफ कमाण्डमा नरहने लगायत प्रहरी नियमावली विरुद्ध काम गरेको पाइएको कारण कारबाही गरिएको प्रवक्ता ढुंगेलले बताए।
त्यस्तै संगठनलाई योगदान गरी पुरस्कृत हुनेहरूमा ४० जनामध्ये ३ जना प्रहरी नायब उपरीक्षक, ७ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी नायब निरीक्षक, २ जना प्रहरी सहायक निरीक्षक, ८ जनाप्रहरी हबल्दार, १४ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।