जाकर्ता (इन्डोनेसिया)- सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दाेकी सविता राजभण्डारीले जितेको रजत पदक नेपाली खेलकुद इतिहासको सबैभन्दा ठूलो पदक थियो। त्यसपछि नेपाललाई रजत के कास्य पदक जित्न पनि कठिन परिरहेको थियो। पछिल्ला ४ एसियाली खेलकुदमा नेपालले कास्य पदकमै चित्त बुझाउँदै आएको थियो। २० वर्षपछि भने नेपालले दोस्रो रजत जित्न सफल भएको छ।
इन्डोनेसियामा भइरहेको १८औं एसियाली खेलकुलअन्तर्गत नेपालले बुधबार प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेको हो। जारी एसियाली खेलकुदमा ११ दिनसम्म पदक जित्न नसकेको नेपालले १२औं दिनमा पदकको खाता प्याराग्लाइडिङको पूरुष टिम क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेर खोलेकाे हाे। नेपालले आयोजक इन्डोनेसियालाई पछि पारेर दोस्रो स्थान हात पार्यो। पहिलो भएको जापानसँग २७ अंकले मात्र पछि पर्दा नेपालले एसियाली खेलकुदमा पहिलो स्वर्ण जित्ने सुनौलो मौका गुमाउन बाध्य भयो।
क्रस कन्ट्री इभेन्ट इन्डोनेसियाको वेस्ट जाभास्थित गुनुङ मास पुनासमा पाँच दिनसम्म चलेको थियो।
नेपाललाई ऐतिहासिक रजत दिलाउने टिममा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा थिए।
नेपाली टिमका कप्तान विमल अधिकारी एसियाली खेलकुदमा प्याराग्लाइडिङ समावेश भएदेखि नै उत्साहित थिए। इन्डोनेसियामा एसियाली खेलकुद चलिरहँदा उनलाई नेपाललाई पदकविहीन हुनबाट जोगाउने अर्को जिम्मेवारी थपिएको थियो।
'हामी सबैको मिहिनेत र प्रयास खेर गएन। आज प्याराग्लाइडिङले नेपाललाई एसियाली खेलकुदमा पदकविहिन हुनबाट जोगाएको छ,' ३४ वर्षीय कप्तान विमलले भने, 'राष्ट्रिय भावनाका साथ प्रतिस्पर्धा गरेका थियौं। टिमका युवा खेलाडीको जोशले पनि काम गर्यो।'
यद्यपी उनै विमलले अन्तिम दिनको टाक्स पूरा गर्न सकेनन्। उनले दुखेसो पोखे, 'दुःख लागेको छ। बिहानदेखि मौसम कस्तो हुन्छ भन्ने चिन्ता थियो। अन्तिम नतिजाले हामी सवैलाई दुःखी बनायो। हामी रजतमै खुम्चिन पर्यो।'
नेपाली टिमका अर्का खेलाडी विजय गौतमले भने पहिले नै नेपालले पदक जित्नेमा ढुक्क रहेकाे बताए। २६ वर्षीय विमल आयोजक इन्डोनेसियाले केही तलमाथि गर्छन् भन्नेमा चिन्तित थिए। उनले भने,'हामीले हरेस खाएनौँ।'
उनले नेपालले पदक जित्नुको कारण आत्मविश्वास भएको पनि प्रस्ट पारे। 'एक जना पाइलटको गल्तिले नेपालको पदक गुम्न सक्थ्यो। त्यसैले सबै पाइलटले आत्मविश्वासका साथ उडान भर्यौ,' उनले अनुभव सुनाए, 'आकासमा टाक्स पुरा नभएसम्म डर भने कायम नै थियो।' रजत दिलाएर देशको इज्जत जोखाउने टिमका भरपर्दा खेलाडी विजय स्वर्ण जित्न नसक्दा थोरै दुखी छन्। 'पहिलो चरणदेखि नै राम्रो स्थानमा थियौं। अन्तिम क्षणमा चुक्दा जस्तो नरमाइलो के हुन सक्छ?', उनले भने।
अर्का खेलाडी विशाल थापा अन्तिम दिनको बिहानदेखि नै तनावमा थिए। किनकी कुनै एक जनाको गल्तिले नेपालको पदक गुम्न पनि सक्थ्यो। 'हामी मध्ये कुनै एक खेलाडीको प्रदर्शन खराब भएमा हुँदा हातमै आएको पदक गुम्ने सम्भावना थियो,' २६ वर्षीय विशालले अनुभव साटे,'त्यसैले हामी सबैले नेपाललाई पदकविहिन हुनबाट जोगाउने संकल्प गरेका थियौं।' सुरुमा सबै पाइलटले आत्मविश्सका साथ उडान पर्दा उनको तनाव कम भइरहेको थियो। उनले भने, '३ खेलाडी टास्क पुरा गर्न सफल भयौं। जसले गर्दा हाम हामीले ऐतिहासिक पदक जित्न सफल भयौँ। आजको दिनलाई जीवनकै एक अविश्मरणीयका रुपमा लिएको छु।'
विमल र विजय जस्तै विशालको मन पनि अमिलो भएको छ। किनकी नेपाल थोरैले स्वर्ण पदक जित्नबाट बन्चित भयो। उनी भन्छन्, '४ जना खेलाडीले मात्र टाक्स पुरा गरेको अवस्थामा नेपालको स्वर्ण पक्का थियो। थोरै अंकले मात्र स्वर्ण पदक गुमाँउदा दुःख लागेको छ।'
प्याराग्लाइडिङ टिमका कान्छा सदस्य हुन्, युकेश गुरुङ। १७ वर्षीय गुरुङले पनि नेपाललाई ऐतिहासिक रजत दिलाउन ठूलो योगदान दिएका छन्। सुरुवाती २ चरणमा तेस्रो स्थानमा रहँदा सबै हौसिएको उनले तत्कालीन अनुभव साटे। पाँच राउन्डको पहिलो २ राउन्डमा नेपाल तेस्रो स्थानमा थियो। तेस्रो दिन चौथो स्थानमा झरेपछि नेपाल दबाबमा आएको थियो। तर चौथो दिन नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको थियो।
'मंगलबार सबै खेलाडीले राम्रो प्रदर्शन गर्दा नेपाल एकैपटक दोस्रो स्थानमा आयो,' उनले भने, 'दोस्रोमा आउँदा पदक पक्का भनी खुसी भइसकेका थियौँ।' उनले आयोजक इन्डोनेसियाले दबाब सिर्जना गरेपनि अन्तिम दिन आत्मबल बलियो पार्दै प्रतिस्पर्धा गरेको बताए।
'जापान हामी भन्दा ७ सय अंकले अगाडि थियो। नेपालका ५ जनामा ३ जनाले मात्र टाक्स पुरा गर्दा मेडलको आशा झनै बढ्यो। उडान भर्दा गल्ति नगर्ने सोच बनाएर खेल्दा पदक आयो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।