इटहरी- सुनसरीको कोसी गाउँपालिकाकी समरीदेवी उराउ आफूबाहेक अरू सबैलाई खुसी देख्छिन्। गाउँका सबै परिवारका छोराहरू कमाउने भएका छन्। ६ सन्तान जन्माउँदा एउटा पनि छोरा नजन्मिनु नै उनको दु:खको कारण हो। हाल उनी ३ छोरी र श्रीमानको साथमा छिन्। ६ मध्ये ३ छोरीको विवाह भइसक्यो। बाँकी रहेका ३ जनाको विवाहको तयारी हुँदैछ।
उनका श्रीमान् साइडमा काम गर्छन्। उनी पनि श्रीमान्सँगै साइडमा इँटा बोक्ने काम गर्छिन्। छोरीको उमेरसँगै उनको तनावको पारो पनि बढ्दै गइरहेको छ। ३ छोरीको विवाहका लागि लिएको ऋण तिरिसकेकी छैनन् उनले। लगत्तै अर्की छोरीको पनि विवाहको समय हुन लागेकोमा उनमा चिन्ता थपिएको छ।
ज्वाइँ नपाइने हो कि भन्ने चिन्ताले उनको मन पोलिरहन्छ। दहेज थोरै दियो भने विवाह नै नहुने भएकोले छोरीको विवाहमा समस्या भएको उनी सुनाउँछिन्। 'पहिला ३ छोरीको विवाहमा ९ लाख खर्च भयो। अब अरूको लागि झन् धेरै गर्नुपर्छ। नभए ज्वाइँ मान्दैन,’ उनी भन्छिन्, 'के गर्ने हजुर, मेरो भग्य नै फुटेको रहेछ। यत्रो गर्दा पनि एउटा छोरा जन्मिएन।' ज्वाइँलाई दहेज दिएको ऋण तिरेर मर्न पाएँ हुन्थ्यो भन्ने उनको इच्छा छ।
खानबस्न राम्रो प्रबन्ध नभएकी समरीदेवी ज्वाइँलाई भने राम्रै दाइजो दिनुपर्ने बताउँछिन्। 'दहेज दिएन भने छोरीलाई हेप्छ। छोरीको मायाले भए पनि दहेज जुटाउनैपर्छ,' उनले बाध्यता सुनाइन्।
दाइजोको सकसमा पिल्सिएकी उनी एक्ली होइनन्। जुलखा खातुनको पीडा पनि उस्तै छ।
दैनिकी सरसफाइबाट सुरु हुन्छ जुलखाको दिनचरया। घरआँगन सफाइ गरेर उनी सहर सफा गर्न निस्किन्छिन्। दुहबीदेखि इटहरीसम्म उनको 'इलाका' हो।
इटहरी पछिल्लो समय व्यापारिक नगरीको रूपमा परिचित छ। जसले गर्दा मानिसको भिडभाड हुने नै भयो। यसकारण जताजतै फोहोर हुने क्रम बढ्दो छ। यही फोहोर उठाएर जुलखा दैनिकी गुजारिरहेकी छन्।
दुहबी नगरपालिका कार्यालयबाट केही पूर्वतर्फको सुकुम्बासी बस्तीमा छ जुलखाको घर। उनीसँगै छिमेकका साथीहरु पनि उनी जस्तै पेसामा छन्। सकिला, अम्ना, जरीना, सबिना, मरीयम उनका साथी हुन्। सबै विवाहित। पेसासँगै भाषा, धर्म र जात पनि उस्तै।
जुलखाका श्रीमान् चालक हुन्। उनी पहिले रिक्सा चलाउँथे अहिले सिटी सफारी। त्यही रिक्साबाट पनि जेनेतेन परिवार चलेकै थियो। खानलाउन पुगेकै थियो। सिटी सफारी किने पछि आम्दानी पनि बढ्यो।
यतिकैमा छोरी माग्न भारतको हरियाणाबाट कुटुम्ब आए। बढेकी छोरी राम्रो कुटुम्ब आएको बेला उम्काउन मन लागेन जुलखालाई। तर समस्याको तगारो बनिदियो दहेज (दाइजो)।
केटापक्षबाट बाइक र एक लाख रुपैयाँ 'क्यास' हुनुपर्ने माग भयो। उनीहरूसँग त्यो पूरा गर्न सक्ने हैसियत थिएन। मुस्लिम धर्ममा भनिन्छ, वचन दिइसकेपछि हार्नु काँतरसरह हो। काँतर हुनुभन्दा ऋण गर्नु नै एउटा मात्र विकल्प बाकी रह्यो। तर भनेको बेला ऋण दिने पनि कोही थिएन।
विकास बैंकले घरघरमा खाता खोल्ने कार्यक्रम चलाइरहेको थियो। दैनिक बचत गरेर ऋण भुक्तानी गर्नेलाई बैंकले ऋण दिन्थ्यो। जुलखाका लागि यो कार्यक्रम ढुंगा खोज्दा देउता मिलेझैँ भयो। उनले लगतै २ लाख ७५ हजार रुपैयाँ ऋण लिइन्। 'तीन वर्षका लागि लिएको ऋणको किस्ता हरेक महिना १० हजारका दरले बुझाउनुपर्छ,' जुलखा भन्छिन्, 'ज्वाइँ किन्न साह्रै गाह्रो रैछ।'
गत मङ्सिरमा उनले दहेज बुझाइन्। तर विवाह भने आगामी असोजमा मात्र हुँदैछ। अगाडिनै बैना गर्न दहेज दिएको उनको भनाइ छ।
२०७७ साल मङ्सिरमा मात्र उनको किस्ता सकिन्छ। त्यसपछि फेरि उनलाई ऋण गर्नुपर्ने बाध्यता आउँदैछ। किनकि माइली छोरीको विवाह गर्नुपर्ने समय नजिकिँदै छ।
ठूली छोरीको बिहै गर्दा झन्डै तीन लाख लाग्यो। माइलीको पालोमा पाँच लाख रुपैयाँ ऋण गर्ने उनको योजना छ। 'कान्छी छोरी अलिक सानै छ। माइलीको विवाहको किस्ता सकेर मात्र उसको बिहे गर्ने,' मुस्कुराउदै उनी भन्छिन् 'मेरो जिन्दगी दहेज जोरजाममै जान्छ होला।'
उनकै जस्तै समस्या छ, मरीयम खातुनको पनि। उनका श्रीमान् पनि सिटी सफारी नै चलाउँछन्। उनका जम्मा पाँच सन्तान छन्। अहिले तीन छोरी र एक छोरा छन्। एउटी छोरीलाई निमोनिया भएको थियो। खर्च अभावमा उपचार गर्न नसकेपछि पाँच वर्षको उमेरमा बितिन्।
जेठी छोरीको विवाह भइसक्यो। त्यसबेला उनीहरुले दुई लाख रुपैयाँ दहेजमा दिनुपर्यो। उनी अहिले त्यही दहेजको ऋण तिर्दैछिन्। 'पहिला घडी, साइकलमा हुन्थ्यो। अहिले बाइक र पैसा भएन भने छोरी नै लाँदैनन्,' उनी भन्छिन्, 'त्यसको लागि भए पनि पैसा त कमाउनै पर्यो।' श्रीमान्को कमाइबाट घरपरिवार चलाउने र आफूले फोहोर उठाएको कमाइले किस्ता तिर्ने गरेको मरीयम सुनाउँछिन्।
उनीहरूको मासिक कमाइ १० देखि १५ हजारको बीचमा हुन्छ। कहिलेकाहीँ पानी पर्यो भने कमाइ नै नहुने उनीहरू बताउँछन्। अघिल्लो दिन फालेका कार्टुन, कागज, बोतल, प्लास्टिक लगायतका फोहोर भोलिपल्ट बिहानै उनीहरु सङ्कलन गर्ने गर्छन्।
उनीहरुलाई छोरीहरूले नै घरबाट खाना पकाएर काम गरेको ठाउँमा ल्याइदिने गरेका छन्। खाना खाइसकेपछि उनीहरु दिनभर बजार घुम्छन्। साँझपख कुनै स्थानमा सङ्कलन गरेको सामान मिलाउँछन्। कहिलेकाहीँ श्रीमान्ले पनि फोहोरको बोरा बोकेर कवाडी हाउसमा लैजाने गरेको मरीयमले बताइन्।
पैसा नगदै आउने भएकोले उनीहरू दैनिक रूपमा बचत गर्छन्। प्रायजसो एक्लाएक्लै सङ्कलनमा हिँड्छन्। तर, साँझपख भने एकै ठाउँमा भेला भएर घर फर्कन्छन्।
यस्तै अर्की पात्र हुन्, अम्ना खातुन् जो दुई छोरा र दुई छोरीकी आमा हुन्। एउटा छोरा रिक्सा चलाउँछन्। अर्काले घरमा खाना पकाउँछन्। छोरीहरू सानै भए पनि उनी सँगै लिएर काममा हिँड्छिन्। कार्टुन टिप्न र कागजका टुक्रा, बोतल टिपेर बोरामा हाल्न उनीहरुले पनि सिकिसकेका छन्।
जरीना खातुनका भने दुई छोरी मात्र छन्। दुइटै छोरीको विवाह गर्ने बेला हुन लागिसक्यो। उनलाई पनि उसैगरी दहेजकै समस्याले पिरोलिरहेको छ। दहेज मात्र होइन उनलाई त श्रीमान्को पनि चिन्ता छ। खुट्टामा समस्या भएपछि उनी हिँडडुल गर्न सक्दैनन्। 'श्रीमान्का लागि औषधि किन्न धौधौ परेको बेला छोरीको विवाहको कुरा आउँदा मन भारी हुन्छ,' उनले दुखेसो सुनाइन्, 'छोरीको विवाहका लागि खर्च जोहो गर्न थाल्यो भने श्रीमान् बित्छन् भन्ने डर छ। श्रीमान् बचाउन लाग्यो भने छोरी बिकेनन् भनेर बदनाम हुनुपर्छ।'
इटहरीमा मात्र होइन धरान-विराटनगर लगायत सहरका हरेक गल्लीमा भेटिने महिलाहरू सबै मुस्लिम समुदायका छन्। आआफ्नै समस्याको भारी बोकेर उनीहरु दैनिक कर्ममा जुटिरहेका छन्। कलिलै उमेरमा विवाह गरेका र छोराछोरी च्यापेर काट्न बोक्दै हिँड्ने महिलाहरू त यो पेसामा प्रशस्तै छन्।
प्राय: उनीहरुको समस्या एउटै प्रकृतिको छ। घरमा श्रीमान्को कुटाइ खप्न नसकेर आफै कमाइ खान हिँड्नेहरू पनि छन् यहाँ। 'रक्सी खाएर आउने र बिनाकारण कुट्ने गर्छन्,' एक पीडित महिलाले भनिन्, 'घरव्यवहार चलाउन जम्मा गरेको पैसा पनि खोसेर लगिदिन्छन्।'
कोसी गाउँपालिकाका वडा ४ का वडाध्यक्ष महम्मद अमीन मिया आफ्नो गाउँमा दहेजको समस्या अत्यधिक रहेको बताउँछन्। 'हामी हाम्रो गाउँमा दहेज निषेध गर्छौं तर अरू गाउँमा दहेज दिने भएकोले हाम्रो गाउँको छोरी चेलीहरूको विवाह नै हुँदैन,’ उनी भन्छन्, 'पहिला दहेज खासै थिएन। सामान्य घडी साइकलमा हुन्थ्यो तर अहिले मोटरसाइकल र पैसाबिना विवाह नै गर्दैनन्।’ गरिबका छोरीहरूको विवाह नै नहुने समस्या धेरै बढ्दै गएको उनी सुनाउँछन्।
दाइजो लिनुदिनु कानुनी रूपमा अपराध मानिएको छ। तर सकिला, अम्ना, जरीना, जुलखा, सबिना र मरियम त्यही भोगिरहेका छन्। किनकि अभिभावकले दाइजो कम दिएको वा नदिएको निहुँमा छोरीहरु जलेको उनीहरुले समाचारमा सुनेका छन्।
'जुटाउनै नसक्ने दाइजो दिन कसलाई मन होला र,' जुलखाले भनिन्, 'छोरीले जिउँदै जल्नु नपरोस् भनेर यस्तो काम गर्नुपरेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।