धनगढी– प्रदेश ७ को स्थायी राजधानी र नामबारे सुझावसहित प्रतिवेदन पेस गर्न गठित संसदीय विशेष समितिको चौथो पटक म्याद थप गरिएको छ।
गत साउन १४ गते गठन गरिएको विशेष समितिले तीन पटक थपिएको म्यादभित्र प्रतिवेदन पेस गर्न नसकेपछि प्रदेशका सभामुख अर्जुनबहादुर थापाले मंगलबार (५ गते) सम्मका लागि म्याद थप गरेको जनाइएको छ। सात नम्बर प्रदेश सभा बैठक ६ गते बस्दै छ।
प्रदेशका सभामुख थापा, उपसभामुख निर्मला वडाल (जैशी) र प्रदेशसभा सचिवालयका सचिव केही दिनका लागि काठमाडौं गएकाले तीन दिनको म्याद थप गरिएको संसद सचिवालयले जनाएको छ।
शुक्रबार प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई समितिले निवेदन दिँदै ‘अझै केही दिन समितिको म्याद थप्न’ आग्रह गरेका थिए। समितिका संयोजक शुक्रबार धनगढीमा नभएपछि सदस्य प्रेमप्रकाश भट्ट, चुनकुमारी चौधरी तथा श्यामलाल रानाथारूले सभामुख समक्ष म्याद थप गर्न लिखित आग्रह गरेका प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताए।
‘समितिले दिन तोकेको थिएन, १५/१६ दिन थप्न मौखिक आग्रह गरेको थियो।’, संसद सचिवालयका सचिव शर्माले भने, ‘तर, सभामुखले तीन दिनको म्याद थप्नु भएको छ।’
समितिका संयोजक तारा लामा तामाङले ५ गतेभित्र सुझावसहितको प्रतिवेदन पेस गरिसक्ने बताएका छन्। उनले भने, ‘हामीले लगभग छलफल सकिसकेका छौं, अब समितिको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप लिन मात्रै बाँकी रहेको छ।’, संयोजक तामाङले प्रदेशका शीर्ष नेता, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य लगायतका पक्षसँग छलफल गरिसकेको बताए।
उनले भने,‘शीर्ष नेता शेरबहादुर देउवाबाहेक अन्य सबै नेता तथा सांसदसँग छलफल गरिसकेका छौं।’ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री देउवा हाल उपचारका लागि नेपाल बाहिर रहेका छन्।
संयोजक तामाङले प्रदेश सातका शीर्ष नेताहरु लोकेन्द्रबहादुर चन्द, भीमबहादुर रावल, लेखराज भट्ट, रमेश लेखक, एनपी सावद, कर्णबहादुर थापा, लक्ष्मणदत्त जोशी, लगायतसँग छलफल गरिसकेको बताए।
संयोजक लामाले प्रदेशका ९ वटै जिल्लाका विज्ञ व्यक्तिहरूसँग छलफल नभए पनि प्रदेशका नागरिकहरूले राजधानीका विषयमा बुझाएको ज्ञापनपत्रलाई पनि प्रतिवेदनमा समेटिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।