रसुवा- रसुवाको धार्मिक तीर्थस्थल गोसाइँकुण्ड जाने पदमार्ग पुनःनिर्माण गरिएको छ। जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्ड लाग्ने मेला सुरु भएसँगै गोसाईकुण्ड जाने पदमार्ग पुनःनिर्माण गरिएको हो।
अबिरल बर्षाका कारण लेदो आएर बाटो बगाएपछि लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले शुक्रबार पुनःनिर्माण गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जानकारी दिएको छ। कालीजंग गणका गणपति शीतल बानियाँको नेतृत्वमा खटिएको ५५ जनाको टोलीले मिनि–गोसाईकुण्डदेखि गोसाइँकुण्डसम्मको बाटो पुनःनिर्माण गरेको हो। यसअघि गत शुक्रबार र शनिबार पनि गणका अशोक बुढा खाम्पाको कमाण्डको टोलीले पदमार्ग निर्माण गरेको थियो। यस्तै बर्षातका समयमा पहिरोको जोखिम बढी हुने हुदाँ धुन्चेदेखि गोसाइँकुण्डसम्म जाने जोखिम रहेका स्थानमा सचेतनामूलक संकेत राखिएको नेपाली सेनाको कालीजंग गणले उल्लेख गरेको छ।
मेलालाई मध्यनजर गरी मिनि–गोसाइँकुण्डदेखि दायाँबायातर्फको झाडी फाडी पदमार्ग सफा गरिएको समेत सेनाले बताएको छ। गोसाइँकुण्ड जाने तीर्थयात्रीमध्ये करिव ९० प्रतिशत यही पदमार्ग भएर जाने गर्दछन्। गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन्। काठमाण्डौ–धुन्चे–गोसाइँकुण्ड पदमार्ग बढी प्रयोग हुने पदमार्ग हो।
गोसाइँकुण्ड आउने प्रमुख पश्चिमी पर्यटकहरूमा सबैभन्दा धेरै फ्रान्स, जर्मनी, इजरायल, कोरिया, जापान र नेदरल्याण्डका छन्। गोसाइँकुण्ड क्षेत्रमा तीर्थयात्री, सूर्यकुण्ड भञ्ज्याङसहितको सहासिक पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले पर्यटक आउने गरेका छन्।
जैविक विविधताको अध्ययन र भूगर्भशास्त्रको अध्ययनका लागि समेत पर्यटक आउने गरेका लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। साउन ३१ गतेदेखि भदौ १० गतेसम्म गोसाईकुण्डमा मेला लाग्दैछ। धुन्चेदेखि गोसाइँकुण्ड जाने बाटो पूर्ण सुरक्षित रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जानकारी दिएको छ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्ड मेलाको अवसरमा स्वदेश तथा विदेशबाट वर्षेनी हजारौ तीर्थयात्री आउने गरेका छन्। १०८ कुण्ड रहेको रसुवा जिल्लामा वर्षेनी हजारौको सङख्यामा तिर्थालुहरू आउने गरेका छन । समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाईकुण्ड सन् २००७ सेप्टेम्बरमा रामसार सुचिमा समेत सूचीकृत छ।
कुण्डमा स्नान गरी गोसाईबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ उद्धार हुने साथै आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ हजारौँभक्तजनहरू कुण्डमा स्नान गर्न आँउने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।