काठमाडौं– प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ १७ गतेलाई सरेको छ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले सभापति निर्वाचन भाद्र १७ गते हुने जानकारी गराएका हुन्। उनले विशेष कारणले प्रतिनिधिसभा नियमावलिको नियम १ सय ७३ को उपनियम १ बमोजिम समिति सभापतिको निर्वाचन कार्यतालिका सारिएको जानकारी गराए।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले समितिका सभापति हुने व्यक्तिहरुको नाम टुङ्ग्याउन नसकेपछि निर्वाचन मिति सारिएको हो।
संसदको कार्य व्यवस्था समितिको बैठकमा समितिको निर्वाचन सार्ने विषयमा सत्तारुढ र विपक्षी दुवै पक्ष सहमत भएका हुन्। यसअघि भदौ ५ गते मंगलबार ११ बजे समितिको नेतृत्व चयन गर्ने मिति महराले नै तोकेका थिए। दलहरुकै परामर्शमा मिति तोकिएको तर उनीहरुले नै समय मागेपछि १७ गतेलाई सार्ने सहमती भएको सचिवालयले जनाएको छ।
यसअघि राष्ट्रियसभा अन्र्तगतको समितिको पनि सभापति छान्ने कार्यक्रम भदौ १३ गतेका लागि सरेको थियो। निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि निर्वाचन तालिका प्रकाशन गर्नुपर्ने प्रावधान प्रतिनिधिसभा नियमावलीमा छ। निर्वाचनको अघिल्लो दिन उम्मेदवारहरुको मनोनयन हुने व्यवस्था छ।
प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन्।
समितिहरुको नेतृत्वको बारेमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तापक्षका बीचमा विवाद हुँदा जेष्ठ सदस्यको नेतृत्वमा समितिको बैठक सुरु भएको थियो। कांग्रेसले लेखा समिति र अन्य दुई समितिको सभापति आफूले पाउनुपर्ने दावी गर्दै आएको थियो। तर प्रतिनिधिसभामा एउटा मात्र समितिमा सभापति पद दिनेमा सहमति भएको छ। सो सम्बन्धमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा देश बाहिर भएकाले सोको निर्वाचन केही समय पछि सार्न माग गरिएको थियो।
विपक्षी दलले लेखा समिति लिँदै आएको विगतको परम्परा रहेकाले स्वतः पाउनुपर्ने कांग्रेसको दावी सत्ता पक्षले स्वीकार गरेपछि दलहरुका बीचमा देखिएको विवाद समाधान भएको थियो।
यस्ता छन् प्रतिनिधिसभाका १० विषयगत समिति
-सार्वजनिक लेखा समिति
-राज्य व्यवस्था समिति
-अर्थ समिति
-उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
-अन्तर्राष्ट्रिय सम्बन्ध समिति
-कानुन न्याय तथा मानवअधिकार समिति
-कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति
-महिला तथा सामाजिक समिति
-विकास तथा प्रविधि समिति
-शिक्षा तथा स्वास्थ्य समिति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।