काठमाडौं– नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि बिरामी नजाँच्ने भनि घोषणा गरेको आन्दोलनको कार्यक्रम १५ दिनका लागि स्थगित गरेको छ।
नेपाल चिकित्सक संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भदौै १ गते (भोलि) देखि बिरामी नजाँच्ने आन्दोलन १५ दिनसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो। सरकारले लागू गर्न लागेको मुलुकी अपराध संहिताले चिकित्सकहरुलाई कैदसहितको दण्ड सजायको व्यवस्था गरेको विरोधमा संघले बिरामी नजाँच्ने लगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।
सोही कार्यक्रम १५ दिनका लागि स्थगित गरिएको संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले जानकारी दिए। संघले आफ्नो लाइसेन्स भने संघको कार्यालयमा बुझाउन देशभर चिकित्सकहरुलाई निर्देशन दिएको छ। सरकारले १५ दिन भित्र पनि आफूहरुको माग अनुसार सो संहिता संशोधन नगरे बिरामी नजाँच्ने संघका अध्यक्ष श्रेष्ठले चेतावनी दिए।
संघले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संशोधन गरेर लापरबाही भए नभएको पुष्टि गर्न छानबिन समिति बनाउने व्यवस्था गर्न माग गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघको माग अनुसार सो संहिता संशोधन गर्ने प्रतिवद्धता जनाएपछि चिकित्सकहरुले पनि भोलिदेखि बिरामी नजाँच्ने आफ्नो निर्णय १५ दिनपछि सारेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।