काठमाडौं– नेपाल विद्यार्थी संघको निर्देशक समितिले दिएको समयसीमा भित्र नेविसंघको महाअधिवेशनको कार्ययोजना प्रस्तुत नहुने देखिएको छ। वर्तमान कार्यसमितिको समायावधि तीन दिन मात्रै बाँकी रहँदासम्म संघमा १२ औं महाधिवेशनमा मतैक्यता हुन सकेको छैन।
साउन २३ गते बसेको निर्देशक समितिले पदभारको मितिलाई आधार मानेर कार्यकाल १० दिन लम्ब्याएको थियो। बढाइएको समयमा संघका गुटहरुको अनौपचारिक बैठक बसेको भए पनि महाधिवेशनको कार्यतालिका बन्न सकेको छैन। संघका अध्यक्ष नैनसिंह महरसँग असन्तुष्ट समूहका एक विद्यार्थी नेताका अनुसार कार्यकाल तीन महिना थपिए पनि महाधिवेशन हुन सक्ने अवस्था देखिएको छैन।
विधानतः संघको कार्यकाल बढीमा तीन महिना थप्न सकिने व्यवस्था छ। संघमा असन्तुष्ट पक्षहरु रहेकोले अध्यक्ष महरले महाधिवेशनको मिति तोक्न सकेका छैनन्। आन्तरिक छलफलमा रहेकोले कार्यतालिका सार्वजनिक गर्न नसकिएको महरले बताए।
पछिल्ल्लो समय नेविसंघमा उमेर हदको विषयले प्रवेश पाएको छ। संघको सभापतिमा ३२ वर्ष पार गरेकाले नेतृत्व पाउन हुने/नहुने विवाद छ। विधान संसोधन आफू अनुकुल गराउनका लागि संघका दुई समूह बीच विवाद छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।