धनगढी- तीन वर्षअगाडि भएको टीकापुर घटनाको पहिलो पेसी सुरु भएको छ। जिल्ला अदालतले साउन २४ गते पहिलो पेसीका लागि समय तोके पनि आजका लागि सारिएको थियो।
पेसीका लागि टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएका अभियुक्तहरुलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ। मुद्दाको आवश्यक मिसिल तयार पार्ने र वादी तथा प्रतिवादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी हुन सक्ने सम्भावना रहेको छ।
थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी एक नाबालक र ७ प्रहरीको ज्यान गएको थियो।
प्रहरीले ५८ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा लगाएको थियाे । मुद्दा लागेका मध्ये ३२ जना अझैसम्म फरार छन् भने पक्राउ परेका २६ जनामध्ये २३ जनालाई कैलाली कारागारमा, सांसद् रेशम चौधरीलाई काठमाण्डौंमा र दुई जना नाबालकहरुलाई सुधार गृह पोखरामा राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।