ताइपेह– ताइवानको राजधानी ताइपेहस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन्।
ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ बिरामीसहित ४४ जना अस्पतालभित्र रहेको समयमा ९ तले सरकारी अस्पतालको सातौँ तलाबाट सुरु भएको आगलागीपछि अस्पताललाई खाली गरिएको छ।
‘आगलागीबाट फैलिएको धुवाँको मुस्लोका कारण १६ जना बिरामीलाई हृदयघात भएको थियो भने ७ जना उपचारपछि सामान्य अवस्थामा आएका छन्,’ सरकारी समाचार संस्थाले स्थानीय अस्पताल स्रोतलाई उद्धृत गरी जनाएको छ।
हालसम्म आगलागीको कारण खुलेको छैन। अस्पतालमा रहेको विद्युतीय सामानमा भएको विद्युतीय गडबडीपछि आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको अग्नी नियन्त्रक हुङ लियाङ चेनले बताए।
‘आगलागीको कारण अस्पतालको विद्युतीय खाट वा बिरामी कुरुवाले प्रयोग गर्ने हावा भर्ने विद्युतीय तन्नामा गडबडीका कारण भएको अनुमान छ र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ चेनले भने।
स्थानीय समयानुसार सोमबार बिहान ४ः३६ बजे न्यू ताइपेह सिटीस्थित अस्पतालको सातौँ तलाबाट सो आगो फैलिएको थियो।
राज्यद्वारा सञ्चालित सेन्ट्रल न्यूज एजेन्सीका अनुसार आगो सुरु भएको वार्डमा धूवाँ बाहिर निकाल्ने उपकरण नभएको पाइएको प्रहरीले जनाएको छ।
यसअघि ताइवानमै सन् २०१२ मा एउटा अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको थियो भने कम्तीमा पनि ६० जना घाइते भएका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।