काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई काठमाडौं जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न आदेश दिएको छ।
जबरजस्ती चन्दा संकलन गरेको अभियोगमा पक्राउ परेका प्रवक्ता प्रकाण्डमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले अरु तीन दिन हिरासतमै राख्न आदेश दिएको हो। आइतबार अदालत पुर्याइएका उनलाई थप अनुसन्धानका लागि १५ दिनको म्याद थप गर्न प्रहरीले माग गरेको थियो। यसअघि प्रहरीले प्रवक्ता प्रकाण्डको अनुसन्धान गर्न चन्दा ऐन २०३० अनुसार अदालतबाट ५ दिनको समय लिएको थियो।
गत साउन २२ गते साँझ पार्टी कामको सिलसिलामा हेटौंडाबाट काठमाडौं आउने क्रममा प्रवक्ता प्रकाण्ड दुई जना सहयोगीसहित काठमाडौंको टौदहबाट पक्राउ परेका थिए।
प्रकाण्डले उद्योगी व्यवसायीहरुबाट करिब ७ करोड चन्दा असुली गरेको दाबीसहित प्रहरीले चन्दा ऐन अन्तर्गत मुद्दा चलाएको छ।
यसैबीच प्रकाण्डलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।