काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुजातीय, बहुसांस्कृतिक तथा बहुधार्मिक देश भएकाले सबैको पहिचान भेटिने र आपसी द्धन्द मेटिने संघीयताको अवधारणामा कांग्रेसको जोड रहँदै आएको बताएका छन्।
२४औं विश्व आदीवासी दिवसका अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा पौडेलले कांग्रेसले आदीवासी जनजातीहरुको हक अधिकारका लागि काम गर्दै आएको दाबी गर्दै भने, ‘कम्युनिष्टहरुका जस्तो भाषण र नारा लगाउँदै मात्रै कांग्रेस हिँडेको छैन्। जनजातिको पक्षमा काम पनि गरेका छौं।’
जातीय राज्य आदीवासी जनजातीको पक्षमा चर्का नारा लगाउने नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताले हिजोका नारालाई कार्यान्वयन गरेको कांग्रेसले हेर्न चाहेको बताए।
२००७ सालदेखि कांग्रेसले अधिकार प्राप्तीको आन्दोलन गरिरहेको उनको भनाइ थियो। नेता पौडेलले अधिकारको आन्दोलन भनेको नै स्वतन्त्रता र समानताको आन्दोलन भएको बताए। सबै भूगोल र वर्गलाई सँगै लैजान सकियोस् भन्ने कांग्रेसको स्थापनाकाल देखिको मान्यता रहेको उनले बताए।
कांग्रेस समानताको पक्षपाती भएको दाबी गर्दै पौडेलले भने, ‘हाम्रो केन्द्रीय समिति अहिले पनि सवैको भन्दा समावेशी छ। कम्युनिष्टहरुले नारा मात्र लगाएका छन्, कम्युनिष्ट पार्टीको संगठनको संरचना हेर्नुस् कस्तो छ?’
नले मधेशवादी दलहरु सत्ताको लोभमा फस्दा पनि नेपालमा मधेशी जनताको मुक्ति सम्भव नभएको आरोप लगाए। मधेशको विरोधी भनेर विरोध गर्नेहरु अहिले आएर प्रधानमन्त्री केपी ओलीसँग सत्ताका लागि लम्पसार परिरहेको वरिष्ठ नेता पौडेलको आरोप छ।
कांग्रेस नेता पौडेलले आफ्नो पार्टी द्वन्द्व मेटिने गरी सबै जातजातिहरुको पहिचान स्थापित गराउने पक्षमा दृढतापूर्वक उभिरहेको दावी पनि गरे।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले आदिवासी र मधेशीहरुलाई अधिकार प्राप्तिका लागि एकतावद्ध भएर अघि बढ्न आह्वान गरे। आदिवासी, जनजाति, मधेशीलगायतका जनताहरु एकतावद्ध नभएका कारण उनीहरुले उत्पीडन व्यहोर्नु परेको उनको तर्क थियो।
नेता महतोले जनतालाई अधिकार सम्पन्न बनाउन शोषित पीडित समुदायले अधिकार प्राप्तिको आन्दोलनलाई अघि बढाउन बलियो एकतामा जोड दिनुपर्ने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।