क्यालिफोर्निया– ‘खराब वातावरणीय कानुन’ का कारण अमेरिकी राज्य क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या परेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
कानुनले उपलब्ध पानीलाई उचित ढङ्गले उपयोग गर्न अनुमति नदिएपछि राज्य नै डढेलोका कारण आक्रान्त बनेको ट्रम्पको भनाइ छ।
उनले भने, 'क्यालिफोर्नियाको डढेलो दिन प्रतिदिन फैलिएको छ र यसले राज्यका जनतामा नराम्रो प्रभाव पारेको छ। तर, यस अवस्थामा पनि उपलब्ध पानीलाई यथोचित रूपमा उपयोग गर्न वातावरण कानुन समस्याका रुपमा देखा परेको छ।'
क्यालिफोर्नियाको पानी प्रशान्त महासागरतर्फ लगिएकाले आगो निभाउन पानीको अभाव भएको उनले दाबी गरेका छन्।
'आगो नियन्त्रणका लागि रूखहरू फाँड्न जरूरी छ, तर वातावरण कानुनले यसलाई रोक्छ,' राष्ट्रपति ट्रम्पले ट्विटरमा लेखेका छन्, 'पानीको बहावलाई उत्तरबाट स्वतन्त्र बग्न दिनुपर्नेमा मूखर्तापूर्ण तरिकाले प्रशान्त महासागरतर्फ लगिएको छ। प्रशस्त पानीसहितको क्यालिफोर्नियाको कल्पना गरौं। संघीय सरकारले छिट्टै स्वीकृति दिनुपर्छ।'
क्यालिफोर्नियामा फैलिएको डढेलोले राज्यमा सन्त्रास छाएको छ। डढेलोले राज्यकै इतिहासमा दोस्रो ठूलो क्षति पुर्याकएको बताइएको छ।
विभिन्न १७ स्थानमा फैलिएको डढेलो नियन्त्रणका लागि हजारौँ अग्नि नियन्त्रकले अनवरत खटिरहे पनि एक हप्ता पहिलेदेखि सुरु भएको आगो अझै तातो, सुख्खा तथा तुफानी रूपमा फैलिइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।