काठमाडौं– काँडाघारीमा आइतबार अपरिहत बच्चाको हत्या भएको खुलेको छ। सिन्धुपाल्चोक ज्यामिरे–९ स्थायी घर भई काँडाघारीमा बस्ने ११ वर्षिय निशान खड्काको शव ठिमीमा श्याम लवटको निर्माणधिन घरमा गाडिएको अवस्थामा भेटिएको छ।
अपहरण गर्नेहरु पनि प्रहरीको गोलीबाट मारिएका छन्। अपहरणकारी अजय तामाङ र गोपाल तामाङ मारिएका हुन्। दाेहोरो फायरिङमा उनीहरुको मृत्यु भएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए। भक्तपुरको सूर्यविनायकस्थित पाइलट बाबा आश्रम जाने जंगलमा इन्काउन्टर भएको हो।
उनीहरुले आइतबार नै बालककाे हत्या गरेर शव गाडेको प्रहरीले जनाएको छ।
फिरौतीमा कुरा नमिलेपछि उनीहरुले हत्या गरेका हुन्।
अपहरणकारीमध्ये गोपाल बालकका चिनजानका व्यक्ति हुन्। उनी आइतबार दिउँसोदेखि नै बालकको आमाले चलाउने पसलमा गएर निशानसँग खेलेर बसेका थिए। साँझ उनले नै अपहरण गरी लगेका हुन्।
अपहरणकारीले २ पटक फोन गरी फिरौती मागेका थिए।
घटनाको अनुसन्धानका लागि डेढ सय भन्दा धेरै प्रहरी आइतबार साँझदेखि नै खटिएका थिए। अपराध महाशाखा, काठमाडौं परिसर तथा भक्तपुरबाट समेत अनुसन्धानमा प्रहरी खटिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।