काठमाडौं– ‘नाई मलाई थाहा छैन’, ‘सेल्फीको जमाना’ ’एउटा कुरा भनुँ’ जस्ता दर्जनौं गीतमा स्वर भरेर नेपाली संगीत क्षेत्रमा स्थापित नाम हो, गायिका टिका प्रसाईं।
२०५८ सालमा झापाको विर्तामोडमा एकैदिन दुई वटा गीत रेकर्ड गरेर आफ्नो सांगीतिक यात्राको औपचारिक थालनी गरेकी प्रसाईं बाल्यकालबाट नै गीत संगितप्रति नजिक थिइन्। कक्षा
२ मा अध्ययन गर्दैगर्दा तोते बोलीमा पहिलो पटक समुहमा गीत गाएको अनुभव उनीसँग अहिले पनि ताजै छ। टिका भन्छिन्, ‘सायद बाल्यकालबाटै गायनमा रुचि भएर होला गीतसंगीत नै करियरको पहिलो रोजाई बन्यो।’
२०६१ सालमा संगीतमै आफ्नो भविष्य बनाउन झापाबाट काठमाडौं आएकी टिकाका संघर्ष र सफलताका आफ्नै कथा छन्। लोक, आधुनिक, राष्ट्रिय तथा पाश्र्व गायनलगायत धेरै विधामा आफूलाई अभ्यस्त बनाइसकेकी टिकाको संगीतयात्रा चाख लाग्दो पनि छ। उनको व्यक्तिगत सपना गायिका बन्ने भए पनि परिवारको सपना नर्स बनाउने थियो। परिवारले उनलाई एसएलसी पश्चात् नर्स पढाउन भारतको प्यारामाउन्ट हस्पिटल पुर्याएको थियो।
तर आफ्नो सपना साकार पार्न त्यहाँबाट उनी भागेर पुनः नेपालनै आएकी थिइन्। ‘मेरो सपनाभन्दा परिवारको चाहना केही भिन्न थियो। उहाँहरुले मलाई नर्स पढाउन प्यारामाउन्ट हस्पिटलमा पुर्याउनु भयो।’, टिकाले आफ्नो विगत सम्झिँदै भनिन्, ‘तर मेरो मन मानेन। मैले नर्सिङ हैन संगीत पढ्नुपर्छ भन्ने लाग्यो र घरमा केही नभनी सुटुक्क नेपाल फर्किएँ। त्यसपछि मेरो संगीत यात्रामा केही बाधक बनेको छैन।’
हालसालै मात्र बजारमा आएको गीत ‘मायाँ लुकी लुकी’को बढ्दो लोकप्रियताका कारण उनी यतिबेला चर्चामा छिन्। सांगीतिक यात्राको उतारचढावका विषयमा गायिका टिका प्रसाईंसँग नेपाल लाइभ कला संवादमा मनोज न्यौपानेले गरेको कुराकानीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।