राजविराज– राजविराज हुँदै बग्ने भलुवाही खोलामा आएको बाढीको निकास थुनिदा बुधबार स्थानीय एक महिलाको पक्की घर ढलेको छ।
बाढीले राजविराज नगरपालिका–२ की रुवी खातुनको पक्की घर भत्काएको हो। बाढीको निकास थुनिएको र जगको भाग कटान हुँदा घर ढलेको प्रहरीले जनाएको छ।
खातुनको ३ कोठे भवनमध्ये २ कोठा ढलेपछि पुरै परिवारको विजोग भएको छ। छोराछोरी सुत्ने कोठा, बाथरुम, शौचालयका साथै खानेपानीको ट्युवेलसमेत कटानमा परी ढलेको पीडितले बताइन्।
‘अब एउटै कोठामा परिवारका ७ जनाले गुजारा गर्नु परेको छ।’, रुवीले भनिन्, ‘नुहाउने, खाने, बस्नेदेखि पिउने पानीसम्मको समस्या भयो।’
बाढीले रुवीको घर ढलेको थाहा पाएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेल, एसपी मुकेश सिंह, मेयर शम्भु यादव लगायतको टोली घटनास्थलमा पुगेर निरिक्षण समेत गरेको छ।
खोला किनारमा ३४ परिवार बसोबास गर्दै आएका छन्। खोलामा लामो समयदेखि तटबन्ध निमार्णको कार्य चलिरहेको र काम अति नै सुस्त हँदा बाढीको निकास थुनिएर घर भत्किएको भन्दै स्थानीयले ठेकेदारलाई कारवाही गर्नु पर्ने माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।