काठमाडौं– शनिबार बिहानै तम्घास–सिमलटारी–प्युठान सडक आयोजना, गुल्मीमा कार्यरत सब–इन्जिनियर प्रकाश झा १ लाख रुपैयाँ घुससति पक्राउ परे। सडक आयोजनाको ठेक्काको रनिङ बिल पास गर्न उनले ठेकदारसँग घुस लिएका थिए।
त्यसको केही घन्टापछि सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भैरहवा रूपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकुर समातिए। उनी घुसको थोरै रकमसहित पक्राउ परेका कर्मचारी होइनन्, ३६ लाख ७२ हजार ५ सय रुपैयाँसहित पक्राउ परेका हुन्।
आर्थिक वर्ष सकिएपछि वर्षभरिका कामको कसिमन उठाएका थिए ठाकुरले जसमध्ये १२ लाख ५० हजार ५ सय उनकी श्रीमतीसँग बरामद भयो। अख्तियारले अहिलेसम्म ‘रंगेहात’ पक्राउ गरेको मध्ये घुसको यो रकम सबैभन्दा ठूलो हो।
केही दिनयता अख्तियारले दैनिकजसो घुससहित सरकारी कर्मचारीलाई रंगेहात पक्राउ गर्दै आएको छ। तर, पनि घुस लिने क्रम घटेको छैन। आइतबार मात्र दुई कर्मचारी घुससहित पक्राउ परे।
पर्साको धोबनी गाउँपालिका नायब सुब्बा कृष्ण यादब १ लाख १० हजार रुपैयाँसहित र नेपालगञ्जमा सशस्त्र प्रहरी जवान गोविन्द नेपाली १० हजार रुपैयाँ घुससहित समातिए।
दैनिकजसो कर्मचारीहरु घुससहित पक्राउ पर्दा पनि उनीहरु किन घुस लिन डराइरहेका छैनन्? अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगाल भन्छन्, ‘अरु पक्राउ परे पनि म चाहिँ पक्राउ पर्दिनँ भन्ने सोचाइ हुन सक्छ।’
तर, अख्तियारले कर्मचारीलाई रंगेहात पक्राउ गर्दा भ्रष्टाचार न्यूनीकरण भएको उनी बताउँछन्।
आयोगका अर्का एक अधिकारीका अनुसार कर्मचारीमा घुसको कुलत बसिसकेकाले उनीहरुले नडराई घुस लिने गरेका हुन्। ‘जसरी लागूऔषधको दुव्र्यसनमा फसेको मान्छे, लागूऔषध नलिई बस्दै सक्दैन, त्यसैगरी कर्मचारीहरु घुस नखाई तलबबाट जीवन चलाउनै नसक्ने कुलतमा फसिसकेका छन्,’ ती कर्मचारी भन्छन्, ‘सिस्टम नसुधारेसम्म घुसको प्रवृत्ति रोकिएला जस्तो लागेन।’
३ सहसचिव सहित १ सय ३९ कर्मचारी समातिए
आर्थिक वर्ष २०७४/७५ मा १ सय ३९ जना कर्मचारी रंगेहात घुससहित पक्राउ परेका छन्। जसमा ३ जना सहसचिव समेत छन्। त्यस्तै ८ जना उपसचिव तहका कर्मचारी छन्।
कर्मचारीलाई घुस लिन सघाउने ८ जना बिचौलियासमेत पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा धेरैजसो सर्वसाधरणको सरोकार रहने मालपोत, यातायातजस्ता कार्यालयका कर्मचारी हुन्। त्यस्तै विकास निर्माण सम्बन्धी कार्यालयका कर्मचारी पनि यो वर्ष ठूलै संख्यामा पक्राउ परेका छन्। त्यसमा खासगरी इन्जिनियरहरु छन्।
अघिल्ला वर्षभन्दा २०७४/७५ मा घुससहित पक्राउ परेका कर्मचारीको संख्या धेरै रहेको अख्तियारका प्रवक्ता दंगालले बताए।
यी हुन् घुससहित पक्राउ परेका कर्मचारीहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।