लहान- किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ।
कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ।
धान रोपाइँको बेला मलखादको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा मलको अभाव भएको कम्पनीका लहान प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिए।
उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी चाहिएकोमा हाल २ हजार ५ सय बोरा मात्र कृषि सामग्रीको गोदाममा छ। डिएपी मलको अभाव भए पनि युरिया मल पर्याप्त रहेको चौलागाईंले जनाए। डिएपी मलको अभावकै बीच कृषि सामग्री कम्पनी लिमिटेड लहानले सोमबारदेखि मलखाद वितरण शुरु गरेको छ।
विभिन्न स्थानीय तहमा रहेको डिलर सहकारी संस्थालाई युरिया र डिएपी मल वितरण गर्न शुरु गरेको चौलागाईंले बताए। डिलर रहेका सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनीले गाउँगाउँका किसानलाई मलखाद बिक्री वितरण गर्दै आएको छ।
कृषि सामग्री कम्पनीले डिएपी प्रतिबोरा २ हजार १ सय ८८ र युरिया ७ सय ३८ रुपैयाँका दरले सहकारी संस्थालाई बिक्री गर्दै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।