पोखरा– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अनसनरत डा गोविन्द केसी छिट्टै सकिने बाटोमा लागेको आरोप लगाएका छन्। उनले डा केसी जिद्दीको बाटोमा हिँडेको र त्यो बाटोमा लामो समय हिँड्न नसकिने दावीसमेत गरे।
पश्चिमाञ्चल इञ्जिनियरिङ अध्ययन संस्थान पोखरामा सञ्चालित टेक्निकल फेस्टिबलको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने,‘डा केसीले जुन काम गरिरहेका छन्, त्यो एउटा डाक्टर भएर गर्ने काम होइन। उनको जिद्दी पाराको पछि लाग्न सकिदैंन।’ मन्त्री गुरुङले सबैले आफ्नो जिम्मेवारी र कर्तव्यअनुसार काम गर्नुपर्नेमा जोड दिए।
मन्त्री गुरुङले गण्डकी प्रदेशलाई बन्द हड्तालमुक्त प्रदेश बनाउनुपर्ने धारणा राखे। ‘यो प्रदेशको समृद्धिमा सबै मिलेर लाग्नुपर्छ,’ उनले भने, ‘अब विद्यार्थीहरुले झण्डा बोकेर सडकमा नारा लगाउँदै टायर बाल्ने होइन। बरु ज्ञानबद्र्धक अभियानमा सारिक हुनुहोस्।’
क्याम्पस प्रमुख रामप्रसाद पौडेलले प्राविधिक विश्वविद्यालयका रुपमा क्याम्पसलाई अघि बढाउन सरकारसँग आग्रह गरे। कार्यक्रमका विद्यार्थी नेताहरुले इञ्जिनियरिङ पढेर पनि देशमा रोजगारीको अवस्था नभएकाले विदेशिनु परिरहेको गुनासो गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।