जाजरकोट– रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका–७ मा रहेको लाबुर खोला लघु जलविद्युत आयोजना बन्द भएको छ।
अविरल वर्षासँगै आएको बाढीले विद्युत नहर बगाएपछि विद्युत उत्पादन सेवा अनिश्चित समयका लागि बन्द भएको हो। ८० किलोवाट विद्युत उत्पादन क्षमता रहेको उक्त जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत करीब एक हजार २ सय घरधुरीले प्रयोग गर्दै आइरहेका थिए। विद्युत आपूर्ति सेवा बन्द भएसँगै वडा नम्बर ७ को नार्जी, खत्रीगाउँ, कुमाइगाउँ, काप्रा, वडा नम्बर ८ को सोतिखोला, बसिगाउँ, सोती गेष्मा र वडा नम्बर ९ को कोटगाउँ र गुर्तालगाउँका उपभोक्ता विद्युत सेवाबाट वञ्चित भएका छन्।
आर्थिक अभावले खहरे खोलाले बगाएको आयोजनासम्म आउने कुलो पुनःनिर्माण गर्न नसकिएको समितिका अध्यक्ष एवं वडा नम्बर ७ का अध्यक्ष इन्द्रलाल शर्माले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।