सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा गोविन्द केसीको समर्थकको नाममा अराजकता निम्त्याउनेहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
प्रतिष्ठानमा अनसनरत डा केसीलाई थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै शाहीले डा केसीको जीवनरक्षाका लागि सरकारले पहल गर्दा केही अराजक व्यक्तिहरुले अवरोध सिर्जना गर्न खोजेको बताए।
उनले प्रतिष्ठानमा अराजक कार्य गर्नेहरुलाई सिसिटिभी फुटेज हेरेर पहिचान गरी कारबाही गरिने चेतावनी समेत दिए। ‘डा केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण बन्दै गएपछि सरकारले उहाँको थप उपचारका लागि जुम्लाबाट काठमाडौं लैजान लागेको थियो। सो क्रममा केही अराजक समूहले अवरोध सिर्जना गरी प्रहरीसँग झडप निम्त्याएको छ।’
डा केसीलाई काठमाडौं लैजानका लागि पहल गर्न मुख्यमन्त्री शाहीसहित कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी जुम्ला पुगेका थिए।
२० दिनदेखि अनसनरत डा केसीलाई आजै नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्लाबाट काठमाडौं लगिएको छ। उक्त क्रममा केसीका समर्थक, स्थानीय र प्रहरीबीच अस्पतालमा झडप समेत भएको थियो।
स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रै प्रहरीले लाठिचार्ज गर्दा त्यहाँ कार्यरत केही चिकित्सक, नर्स, विद्यार्थी तथा स्थानीय घाइते समेत भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।