काठमाडौं– बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले १२औं महाधिवेशनको तयारी सुरु गरेको छ।
साउन २३ देखि २५ सम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीका लागि असन्तुष्ट समूहले सम्पर्क कार्यालय स्थापना गरेको छ। शंकरदेव क्याम्पस अगाडि सम्पर्क कार्यालय स्थापना गरिएको हो।
नेविसंघमा अध्यक्ष एकलौटी रुपमा तरिकाले चलेको भन्दै बहुमत केन्द्रीय सदस्य असन्तुष्ट छन्। अध्यक्षले महाधिवेशनका लागि तयारी नगरी विधान मिच्दै हिँडेकाले बहुमत केन्द्रीय सदस्यको समर्थनमा महाधिवेसन आयोजना गरिएको केन्द्रीय सदस्य सुशील भट्टले बताए।
अध्यक्ष नैनसिंह महरले ‘ट्र्याक’ छोडेकाले बहुमतको अधिकार प्रयोग गरेर महाधिवेसनको तयारी थालिएको असन्तुष्ट पक्षको दाबी छ। अर्कोतिर, अध्यक्ष समूहले महाधिवेसनबारे छलफल गर्न साउन ५ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।
महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको असन्तुष्ट समूहलाई उपाध्यक्षहरु रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नवीन राई र प्रकाश राना लगायतका विद्यार्थी नेताले साथ दिएका छन्। काफ्ले समूहले १ सय २९ सदस्यीय केन्द्रीय समितिमा आफ्नो पक्षमा दुई तिहाइ सदस्य रहेको दाबी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।