हेल्सिन्की- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज द्विपक्षीय वार्ता हुँदैछ।
रुसी समकक्षी पुटिनसँग भेटवार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प फिनल्यान्ड आइपुगेका छन्।
राष्ट्रपति ट्रम्प अहिले युरोप भ्रमणमा छन्। हेल्सिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुन लागेको हो।
तर, सो भेटबाट दुई देशबीचको सम्बन्धमा त्यति ठूलो प्रगति भने नहुने राष्ट्रपति ट्रम्पले बताइसकेका छन्।
राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले छलफलमा कुनै औपचारिक मुद्दा नउठ्ने जनाएका छन्।
पछिल्लो समय रुस र अमेरिकाबीच कूटनीतिक विवाद चुलिएको छ। दुई महिना अघि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो।
अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए। यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो।
यस भेट वार्ताका क्रममा ट्रम्प र पुटिनबीच यस विषयमा पनि कुराकानी हुन सक्ने अनुमान गरिएको छ।
तर, सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भनी लगाइएको आरोपबारे उक्त वार्तामा राष्ट्रपति ट्रम्पले प्रश्न उठाउन सक्ने अनुमान गरिएको छ।
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा १२ जना रुसी अधिकारीमाथि हस्तक्षेपको अभियोग लगाइएको थियो। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।