काठमाडौं– आगामी आइतबार २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेताको टुंगो लाग्दैछ। २१ औं संस्करणको यो प्रतियोगिताको उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच आइतबार पौने ९ बजेदेखि प्रतिस्पर्धा हुँदैछ।
सन् १९९८ को विजेता फ्रान्स दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ। पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया भने नयाँ च्याम्पियन बनेर इतिहास बनाउने दाउमा छ।
ऐतिहासिक क्षणको नजिक रहेका दुवै टिम अन्तिम अवस्थामा चुक्न चहादैनन्। त्यसैले दुवै टिम सम्हालेर खेल्नेछन्।
पछिल्ला ३ वटा संस्करणको फाइनलको नतिजा हेर्ने हो भने फाइनलमा पुगेका टिमले रक्षात्मक खेल्ने गरेका छन्। सन् २००२ मा ब्राजिलले जर्मनीलाई हराएर च्याम्पियन बनेपछिका ३ वटा विश्वकपको फाइनल खेलको नतिजा निर्धारित समयमा निस्किएको छैन। तीनै वटै फाइनल थप समयमा धकेलिएका थिए।
सन् २००६ को फाइनलमा फ्रान्स र इटालीले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए। सातौं मिनेटमा जिनेदिन जिदानले पेनाल्टीमा गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए। तर १९ मिनेटमा इटालीका माटेराजीले बराबरी गोल फर्काए। त्यसपछि निर्धारित र थप गरिएको ३० मिनेटमा कुनै गोल हुन सकेन। पेनाल्टी सुटआउटमा इटालीले ५–३ गोलको जित निकाल्दै विश्व च्याम्पियन बन्यो।
सन् २०१० को फाइनलमा स्पेन र नेदरल्यान्ड्स भिडेका थिए। निर्धारित ९० मिनेटसम्म दुवै टिमले गोल गर्न सकेनन्। ३० मिनेट थप गरिएको खेलको १ सय १६ मिनेटमा आन्द्रेस इनिस्टाले गोल गरेपछि स्पेनले पहिलो पटक विश्वकपको उपाधि उचाल्न सफल भयो।
सन् २०१४ को फाइनल खेलको नतिजा पनि निर्धारित समयमा निस्किएन। उपाधिका लागि भिडेका जर्मनी र अर्जेन्टिनाले निर्धारित समय गोलरहित बराबरी खेलेपछि ३० मिनेट थप गरियो। १ सय १३ मिनेटमा मारियो गोट्जेले गोल गरेपछि जर्मनीले चौथो पटक विश्वकपको उपाधि जितेको थियो।
लगातार चौथो विश्वकपको फाइनल खेल थप समयमा पुग्ला? नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा निर्धारित समयमै नतिजा आउने बताउछन्। फ्रान्सले स्वभाविक खेल खेल्न सके थप समयमा खेल नजाने उनको तर्क छ।
'फाइनल सबै टिमका लागि महत्वपूर्ण र अन्तिम अवसर हो। दुवै टिम च्याम्पियन बनेर आफ्नो देश फर्कने चहान्छन्। विपक्षीलाई आफ्नो अट्याकिङ थर्डमा मौका नदिने (आफ्नो घरलाई सुरक्षित गर्ने) अनि मात्र आक्रमणमा जाने रणनीति हुन्छ।'
थापा भन्छन्,'फ्रान्स फरवार्ड र रक्षापंक्ति दुबैमा बलियो छ। रक्षात्मक हुनका लागि आक्रमक खेल्न जरुरी हुन्छ भनिन्छ। मलाई लाग्छ फ्रान्सले यहि रणनीति अपनाउछ। अग्रपंक्तिमा एमबाप्पे, जिरुड र ग्रिजम्यान छन्। त्यसैले फ्रान्स आक्रमक हुन्छ। तर पनि फ्रान्सले रक्षापंक्तिमा विचार गर्नुपर्छ। फाइनलमा पुगेका दुबै टिम उतिकै बलियो भएकाले टक्कर हुन्छ। जसले गर्दा खेल थप समयमा पनि जान सक्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।