बैंकक– थाइल्यान्डमा असार ९ गतेदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि देशभर खुसियाली छाएको बताइएको छ।
थाइल्यान्ड मात्र नभएर विश्वकै सञ्चार माध्यमहरुको ध्यान खिचेको उक्त घटनाको बुधबार विश्वका प्रमुख अखबारले प्रमुख समाचार बनाएका छन्।
पछिल्लो तीन दिन भित्रमा १२ जना बालक र १ जना फुटबल प्रशिक्षकलाई उक्त गुफाबाट सकुशल बाहिर निकाल्न सफल भएपछि थाइल्यान्डका नौसैनिकहरुले पनि आफ्ना फेसबुक पेजहरुमा खुसी साटेका छन्।
फुटबलको तालिमका लागि गएका १६ वर्ष मुनिका १२ जना बालक र उनीहरूका एकजना २५ वर्षीय प्रशिक्षक वर्षापछि आएको बाढीका कारण १८ दिनदेखि गुफामा फसेका थिए।
थाई नौसैनिकले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरिएको छ। सो गुफामा थुनिएका बाँकी पाँच जनालाई लिएर मङ्गलबार अपरान्ह एम्बुलेन्स चियाङ राइस्थित अस्पताल पुग्दा त्यहाँ रहेका आफन्त र सरकारी अधिकारीहरुले खुशियाली साटासाट गरेका थिए।
उनीहरुको उद्धारको काम आइतबार बिहानबाट सुरु भएको थियो। आइतबार गोताखोरहरुले चार जनाको मात्र उद्धार गरी बाहिर निकाल्न सकेका थिए।
त्यस्तै सोमबार चार र मङ्गलबार पाँचजनाको उद्धार गरिएको हो। मङ्गलबार निकै ठूलो वर्षा भएको थियो। वर्षाका कारण उक्त गुफामा पसेको बाढीको बहाव झनै बढेको थियो।
जसका कारण गुफामा बाँकी रहेका पाँच जनालाई बाहिर निकाल्न नसकिने त होइन भन्ने त्रास पनि बढेको थियो। तर पनि अपरान्ह्सम्ममा उद्धारको काम सम्भव भएपछि भने देशैभरि हर्ष छाएको थियो।
उद्दार गरिएका सबैको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ। लामो समयदेखि गुफामा रहँदा उनीहरुको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको चिकित्सकले जनाएका छन्।
उनीहरुलाई हेर्न आफन्तहरु अस्पताल पुगेका थिए। त्यस्तै थाइल्यान्डका प्रधानमन्त्रीले पनि अस्पतालमै पुगेर सबै १३ जनालाई भेटेको बताइएको छ।
उनीहरुको उद्दारपछि देशैभरि खुशियाली छाएको छ। ती बालकहरुको विद्यालयमा बुधबार शिक्षक र विद्यार्थीहरुले एक कार्यक्रम गरेर खुसि मनाएकाे बताइएको छ।
त्यसैगरी उनीहरुका गाउँमा आफन्तहरुले पनि खुसियाली मनाएका छन्। सामाजिक सञ्जालहरुमा देशैभरिका नागरिकले उद्दारमा खट्ने थार्इ सैनिक तथा विदेशी विज्ञ र गोताखोरहरुलाई विशेष धन्यवाद दिएका छन्।
थाइल्याण्ड सरकारले पनि उद्धारको कार्यलाई सफलतापूर्वक सम्पन्न गर्ने सबैजना सदस्यलाई विशेष धन्यवाद ज्ञापन गरेको बताइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।