मड्रिड- बार्सिलोना फुटबल क्लबका पूर्वप्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।
फर्नान्डो हिइरोले आइतबार राजीनामा दिएपछि लुइसलाई सोमबार प्रशिक्षकमा नियुक्त गरिएको हो। लुइस स्पेनिस फुटबल टिमको पछिल्लो एक महिनामा नियुक्त भएका तेस्रा प्रशिक्षक हुन्।
विश्वकप फुटबल प्रतियोगितामा अनपेक्षित असफलता भएकाले राष्ट्रिय फुटबललाई नयाँ तरिकाले अगाडी बढाउनुपर्ने भन्दै उनलाई हटाइएको जनाइएको छ।
“लुइस इन्रीक आगामी दुई बर्षका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा निर्विरोध नियुक्त हुनुभएको छ“ स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेजले सञ्चारकर्मीहरुसँग भने। लामो समय फुटबल क्षेत्रमा विताएका ४८ बर्षिय लुइसले स्पेनको फुटबल टोलीलाई प्रभावकारी र सशक्त बनाउने अपेक्षा गरिएको छ।
यसअघि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुन एक दिनअघि फर्नान्डो हिइरोले स्पेनिस फुटबल टिमको प्रशिक्षकको जिम्मेवारी पाएका थिए।
तत्कालिन प्रशिक्षक बर्खास्तगीमा परेपछि हिइरोले स्पेनको प्रशिक्षको जिम्मेवारी पाएका थिए। हिइरोको प्रशिक्षणमा समूह चरणमा पार गरेको स्पेनको यात्रा अन्तिम १६ मै रोकिएको थियो। अन्तिम १६ मा स्पेनलाई आयोजक रसियाले पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। सन् २०१० को च्याम्पियन अन्तिम १६ बाटै बाहिरिएपछि हिइरोले जिम्मेवारी त्यागेका हुन्।
यसअघि विश्वकप सुरु हुनु एक दिन अघि स्पेनले प्रमुख प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त भएका थिए। स्पेनिस फुटबल महासंघले ५१ वर्षीय जुलेनलाई बिना जानकारी स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षक बनेको भन्दै बर्खास्त गरेको थियो। जुलेनले विश्वकपपछि रियल म्याड्रिडको प्रशिक्षक सम्हाल्ने गरी ३ वर्षको सम्झौता गरेको बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।