टोकियो, जापान- करिब २३ वर्षपहिले जापानमा राजधानी टोकियोको भूमिगत रेलमार्गमा विस्फोट गराउने समूहका नेतासहित ७ जनालाई मृत्युदण्ड दिइएको छ।
१३ जनाको ज्यान लिनेगरी स्नायु प्रणालीमा असर गर्ने घातक ग्यास (सारिन) को प्रयोग गरी गराइएको विस्फोटनमा जिम्मेवार रहेको अभियोगमा ओम् शिन्रिक्यो समूहका संस्थापक नेता शोको आसाहरासहित ६ जनालाई मृत्युदण्ड दिइएको जापानी न्यायमन्त्री योको कामिकावाले बताए।
सन् १९९५ मा भएको सारिन ग्यास आक्रमणमा सम्लग्न दोषीमाथि भएको यो पहिलो मृत्युदण्डको सजाय हो। उक्त घटनामा १३ जनाको मृत्यु भएको थियो भने हजारौँ विषालु ग्यासका कारण विरामी परेका थिए। यसै घटनामा संलग्न ६ जनामाथिको मुद्दाको अझै निर्णय आउन बाँकी छ।
सारिन हमलामा मारिएका व्यक्तिहरूका आफन्त तथा घाइतेहरूले ओम् शिन्रिक्यो समूहका संस्थापक नेता शोको आसाहरालाई दिइएको मृत्युदण्डको स्वागत गरेका छन्।
जापान मृत्युदण्डलाई निरन्तरता दिने विश्वका केही विकसित मुलुकमध्ये एक मानिन्छ। विश्वव्यापी रूपमा मृत्युदण्डको प्रावधानलाई लिएर आलोचना हुने गरेपनि स्थानीय स्तरमा उक्त प्रावधानको पक्षमा राम्रो जनमत रहेको बताउने गरिन्छ।
ओम् शिन्रिक्योलाई संयुक्त राज्य अमेरिका र अन्य कैयौँ देशहरूले आतङ्कवादी संगठनको सूचीमा राखेका भए पनि जापानमा वैध मानिन्छन्। तर जापानले तिनलाई ‘खतरनाक धर्म’ मानेर निगरानी गर्ने गरिएको पाइन्छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।