चितवन- पहिरो खसेपछि बिहान ४ बजेदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड १२ घन्टाको प्रयासपछि खुलेको छ।
चितवनको इच्छाकामना गाउँपालिका- ५ टोपेखोलामा खसेको पहिरो बिहान ६ बजेदेखि स्काभेटरले पन्छाएर अपराह्न ४ बजे बाटो खुलाएको हो। बिहान ६ बजे, ८ बजे र १० बजे गरी तीन वटा स्काभेटर आएर पहिरो पन्छाउन जुटेका थिए।
अवरुद्ध सडक खुले पनि सवारीसाधनको अत्यधिक चाप र कमजोर ट्राफिक व्यवस्थापनका कारण जाम भने खुल्न सकेको छैन। दुईतर्फ नै सवारीसाधन पास हुन थाले पनि जाम खुल्न केही समय लाग्ने सिमलताल प्रहरी अस्थायी पोस्टका असई हेम चौवेले नेपाल लाइभलाई बताए। जामको समयमा चालकहरुले जथाभावी ओभरटेक गरेर सवारीसाधन राख्दा थप समस्या भएको उनको भनाइ छ।
काठमाडौंतिरबाट सवारीसाधनको १० किलोमिटरभन्दा बढी लाम लागेको छ भने नारायणगढतर्फ करिब ८ किलोमिटर जाम रहेको ट्राफिक प्रहरीले जनाएका छन्। यस्तै, पोखरातिरबाट आउने गाडीको करिब ४ किलोमिटर लाइन छ।
सवारी जामका कारण आफूहरुले १२ घन्टाभन्दा बढी समयदेखि सास्ती खेपिरहे पनि स्थानीय प्रशासनले कुनै वास्ता नगरेको यात्रुहरुले गुनासो गरेका छन्।
मुग्लिन-नारायणगढ सडक विस्तारकै क्रममा खस्ने गरेको पहिरो सडक निर्माण पूरा भएपछि पनि नथामिँदा हजारौं यात्रुले सास्ती पाउँदै आएका छन्। सडक आयोजनाका वरिष्ठ इञ्जिनियर गोविन्द खनालले कमजोर भूसतह भएकाले सामान्य पानी पर्दा पनि पहिरो आउन सक्ने बताए।
उनका अनुसार, हाल पहिरो रोकथामका लागि रक नेटिङ, रक बोल्टिङ, बोलस्टर र बायो इञ्जिनियरिङको काम भइरहेको छ। आयोजनाले यस सडकखण्डमा ३३ स्थानलाईं पहिरोग्रस्त क्षेत्र निर्धारण गरेको छ।
तस्बिर : निमेष जंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।