नेपालमा सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित केन्द्र सरकार अघि बढेको छ। त्यसका निम्ति पनि हामीले टुरिजम् प्रोडक्ट थप्नुपर्छ र त्यसको प्रवर्द्धन गर्नतिर लाग्नुपर्छ भन्ने मलाई लाग्छ।
पर्यटक त्यसै आउँदैनन्, उनीहरुलाई आकर्षित गर्ने चिज हुनुपर्छ। उदाहरणका लागि सुन्दर हिमाल आमादब्लमलाई लिन सकिन्छ। सर्वोच्च शिखर सगरमाथाको नजिकै भएर पनि धेरैले आमादब्लम चढ्ने गर्छन्। त्यो सुन्दर भएकै कारण हो। सगरमाथाकै हाराहारीमा आमादब्लम हिमालको आरोहण गर्ने गरेको हामीसँग तथ्यांक नै छ।
नेपाल सुन्दर हिमालहरुको धनी छ। माछापुच्छ्रे गाउँपालिकाको कुरा गर्दा हामीसँग माछापुच्छ्रे हिमाल (६,९९३ मिटर) छ। यो हिमाल आरोहणका लागि खुला गरिएको छैन। अहिलेको अवस्थामा हामीले यसलाई पर्यटन र रोजगारसँग जोडेर हेरेका छौं।
अन्नपूर्ण ट्रेकिङ अन्तर्गत बेसक्याम्प होस् या भित्रका ट्रेकिङ रुट, त्यहाँ जाने विदेशी पर्यटक र रोजगारी पाउनेको अनुपात हेर्ने हो भने एक जना पर्यटक बराबर प्रत्यक्ष रुपमा ३ जनाले काम पाउँछन्। यस्तै, अप्रत्यक्ष रुपमा २० जना स्थानीयले रोजगारी पाइरहेका छन्। ५ जना पर्यटकलाई हाम्रो १ जना नेपाली गाइडले हेर्न सक्छ। यसरी हेर्दा स्थानीय स्तरमा धेरै रोजगारी पाइरहेको देखिन्छ।
तर, माछापुच्छ्रेबाट जति लाभ हामीले लिनुपर्ने हो, त्यो लिन नसकेको देखिन्छ। अहिलेसम्म कसैले आरोहण नगरेकाले माछापुच्छ्रेलाई ‘कुमारी’ हिमाल भन्ने गरिन्छ। तर, हाम्रो बुझाइमा यो हिमाल कुमारी होइन। किनभने इतिहास हेर्दा त माछापुच्छ्रे आरोहणको प्रयास भइसकेको देखिन्छ।
सन् १९५७ मा बेलायती नागरिक जिमी रोबर्टले पहिलोपटक आरोहणको प्रयास गरेका थिए। ब्रिटिस आर्मीका कर्नेल रहेका उनी त्यसबेला ६ हजार ९ सय ४७ मिटरसम्म चढेको भन्ने कुरा छ। उनी प्रतिकूल मौसमको कारण थप ३८ मिटर माथि चढ्न सकेनन्। यस हिसाबले यो हिमाल कुमारी होइन।
धार्मिक आस्था जोडिएका हिमाल चढ्न हुँदैन भन्ने तर्क हामीकहाँ गरिन्छ। तर, धार्मिक रुपले हेरिने पेरु देशको माचुपिचु पर्वत चढ्न पर्यटकलाई छुट छ। जहाँ वार्षिक लाखौं पर्यटक जान्छन्।
धार्मिक आस्था गाँसिएका कुराका बन्देज लगाउनुपर्छ भन्नेहरुलाई भन्न चाहन्छु, हामी जति पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड आदिलाई जति श्रद्धा गर्छौं, के त्यहाँ हामी पुगेका छैनौं र? त्यहाँ हामीले पाइला टेकेका छैनौं? दर्शन गर्न त नजिकै पुग्नुपर्यो नि! जनमानसमा जुन धार्मिक आस्था छ, त्यसलाई अझ उजागर गर्न र विश्वमा चिनाउन पनि माछापुच्छ्रेमा आरोहण खुला गर्नुपर्छ भन्ने मलाई लाग्छ।
माछापुच्छ्रेकै आकृतिसँग मिल्दोजुल्दो हिमाल म्याटरहर्न स्विट्जरल्यान्डमा छ। त्यहाँ आरोहणका साथै स्थानीय रहनसहन र संस्कृति वार्षिक ४० लाख पर्यटक पुग्छन्। यति ठूलो संख्यामा पर्यटक पुगेपछि स्वाभाविक रुपमा त्यहाँ समग्र अर्थतन्त्रलाई योगदान हुन्छ। यस्तै फाइदा हामीले माछापुच्छ्रेबाट पनि लिन सक्छौं। यो हिमाल हामीले वर्षौंसम्म देखाएर बेच्यौं, अब छुनका निम्ति पनि खुला हुनुपर्छ।
यसपटक हाम्रो गाउँपालिकाको नीति तथा कार्यक्रममा माछापुच्छ्रेलाई आरोहणका लागि खुला गर्न पहल गर्ने भनेर भनेका छौं। अब यसलाई आर्थिक आयआर्जनको साधन बनाउनुपर्छ भनेर नै आरोहण खुला गर्ने पहलमा लागेका हौं। त्यसका लागि सम्बन्धित निकाय, विषय विज्ञसँग सल्लाह गरेर, प्रदेश तथा संघीय सरकारसँग समन्वय गरेर पर्यटन तथा रोजगारीका आगामी कार्यक्रममा समेट्न पहल गर्ने भनेका छौं। तत्काल खोलिहाल्छौं भनेका छैनौं।
पहिले जस्तो जमाना छैन। प्रविधिको युगमा संकुचित विचार राखेर हाम्रो सम्पदालाई खुम्च्याएर राख्नु उपयुक्त हुँदैन। हिमाल खुला गरेर आर्थिक आयआर्जन गर्दै नेपालको थप चिनारी दिनुपर्छ।
माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा माछापुच्छ्रे आरोहण खुला गर्न पहल गर्ने उल्लेख गरेको सन्दर्भमा गाउँपालिकाका अध्यक्ष गुरुङसँग नेपाल लाइभका कास्की संवाददाता विकास मगरले गरेको कुराकानीमा आधारित।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।