राजविराज– विकास निर्माणका काममा स्थानीय तह मार्फत भइरहेका गतिविधि अपारदर्शी र जनभावना विपरीत भएको भन्दै प्रदेश २ को प्रमुख प्रतिपक्षी दल नेकपाका नेता सत्यनारायण मण्डलसहितको प्रतिनिधि मण्डलले शुक्रबार सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन्।
विकास निर्माणका नाममा भइरहेको बेथिति, अनियमित र अव्यवहारिक क्रियाकलाप व्यवस्थित गर्न र आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न टोलीले ध्यानाकर्षण गराएको छ। विकास निर्माण तथा जनभावना अनुसारका काम गर्नुपर्ने स्थानीय तहका जननिर्वाचित प्रतिनिधि नै संलग्न भएर अनियमितता र अराजकता बढाएको नेकपाका नेताहरुले आरोप लगाएका छन्।
अग्निसाइर कृष्णा सवरन, महादेवा र राजगढ गाउँपालिका सहित अधिकांश स्थानीय तहमा सञ्चालित विकास योजनामा विवाद देखिएपछि मण्डलसहितको टोली सिडिओ कार्यालय पुगेको हो।
प्रदेश सांसद गोविन्द न्यौपाने, पूर्व सिँचाइ मन्त्री उमेशकुमार यादवलगायत सहभागी रहेको टोलीले स्थानीय तहमा भइरहेका अपारदर्शी र अराजक क्रियाकलाप अन्त्य हुनुपर्नेमा जोड दिए।
अग्निसाइर कृष्णा सवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत राजिव झा तथा १, ४ र ५ नम्बर वडाका अध्यक्षको मिलेमतोमा गाउँ तथा वडाद्वारा सञ्चालित योजनाका विषयमा सर्वसाधारणलाई सूचना समेत नदिएको र जानकारी माग्दा ज्यान मार्नेसम्मको धम्की दिने गरेको उनीहरुले आरोप लगाएका छन्।
‘पटक–पटकको औपचारिक/अनौपचारिक छलफल तथा शान्तिपूर्ण दबाबपछि पनि गैरकानुनी र जनभावना विपरीतका काम भइरहेका छन्,’ स्थानीय वेचन चौधरीले भने, ‘अब हामीले विधिवत रुपमा आन्दोलनको बाटो समाएका छौं।’
चौधरीले संघर्ष समिति गठन गरी आन्दोलन सुरु गरिएको जानकारीसहित सिडिओलाई ज्ञापनपत्र समेत बुझाएको बताए। ९ बुँदे मागसहितको ज्ञापन पत्रमा ७ दिनभित्र माग पूरा नभए वाध्य भएर कार्यालयमा तालाबन्दी लगाउनेसम्मका आन्दोलन अगाडि बढाउने चेतवनी दिइएको छ।
प्रदेश सांसदसहितको प्रतिनिधि मण्डलसँगको छलफलपछि सिडिओ पौडेलले विकास निर्माणका काममा भइरहेका गतिविधिबारे आफूले अनुगमन गरेर माथिल्ला निकायमा जानकारी गराउने बताए।
गाउँपालिकाले सूचना नदिएको विषयमा भने उनले आश्चर्य व्यक्त गर्दै जनतालाई सूचनाबाट वञ्चित गर्नु गम्भीर त्रुटि भएको प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।