काठमाडौं– सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्तमध्ये एक चुडामणि उप्रेती ‘गोरे’का सहयोगी राम तिवारीको पनि सुन तस्करीमा संलग्नता रहेको खुलेको छ। तिवारीलाई पनि संगठित अपराध मुद्दा चलाउन सरकारले गठन गरेको बिशेष अनुसन्धान टोलीले बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको छ।
तिवारीलाई २ साताअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो। कोरियाबाट फर्कने क्रममा उनी पक्राउ परेका थिए।
अनुसन्धानको क्रममा उप्रेतीको सुन तस्करी गिरोहमा तिवारी पनि आबद्ध देखिएपछि उनलाई पनि प्रतिवादी बनाउने निर्णय भएको टोलका एक सदस्यले बताए।
डिएसपी प्रजित केसी र उप्रेतीबीच भएको टेलिफोन कुराकानीमा उप्रेतीले तिवारीसँग भेट्न आग्रह गरेका छन्। तर, केसीले आफुले तिवारीलाई नचिनेको जवाफ दिएका छन्।
तिवारी कानुन व्यवसायी पनि हुन्। उनी बिचौलिया रहेको र उप्रेतीलाई प्रहरीदेखि अदालतसम्म मान्छेहरुले चिनाउने काम तिवारीले गरेको अनुसन्धानमा खुलेको छ।
उप्रेतीको एउटा घर केही महिनाअति तिवारीले खरिद गरेको समेत खुलेको छ।
तिवारीसहित हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा ६ जना छन्। सुन तस्करी र हुन्डी कारोबारको आरोपमा बिनोद अधिकारी, मोतीराम श्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवालमाथि संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ। त्यस्तै गिरोहका नाइकेमध्ये एक भुजुङ गुरुङका सहयोगी लक्षु गुरुङलाई पनि हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
तस्करीमा संलग्न थप व्यक्तिहरुको खोजी भइरहेको अनुसन्धान टोलीले जनाएको छ।
गत माघ ९ गते विमानस्थलबाट कर्मचारीको मिलेतोमा तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सो सुन लुटेको आशंकामा गिरोहमै आबद्ध सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो। सो हत्या घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको उजुरीका आधारमा छानबनि गर्दा विमास्थलबाट ६ वर्षदेखि एयरलाइन्सका कर्मचारीहरुसँगको मिलेमतोमा सुन तस्करी हुँदै आएको खुलेको छ।
तस्करीमा सहयोग गरेको र सनम शाक्य हत्याको अनुसन्धानमा उप्रेतीलाई जोगाएको आरोपमा ९ प्रहरीविरुद्ध समेत मुद्दा दायर गरिएको छ। जसमध्ये ७ जना प्रहरी अधिकारी हाल पुर्पक्षका लागि जेलमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।