हेटौंडा– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक हेटौंडामा सम्पन्न भएको छ। हेटौंडामा भोलिदेखि हुने जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समिति बैठकमा भेलाको तयारी र उठाइने विषयबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनले भने, ‘२५ वर्षपछि काठमाडौं बाहिर बसेको केन्द्रीय समितिको बैठक सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ।’
उनले राष्ट्रिय भेला स्थानीय संयोजन समितिका संयोजक एवं मकवानपुरका सभापति इन्द्र बानियाँले भेलाको तयारी, भोलि हुने उद्घाटन कार्यक्रम बारे जानकारी गराएका बताए।
शर्माले भने, ‘राष्ट्रिय भेलामा ७ प्रदेशको अलग–अलग छलफल र अरु विषयमा उहाँले जानकारी गराउनु भयो।’
यसैगरी, बैठकमा पार्टी महामन्त्री शशांक कोइरालाले भेलामा छलफल गर्न भनी देशभरि पठाएको सर्कुलरबारे जानकारी गराएको प्रवक्त शर्माले जनाए।
महामन्त्री कोइरालाले समसामयिक सन्दर्भमा कांग्रेसले लिनुपर्ने, राजनीतिक, सामाजिक र आर्थिक मुद्दा कस्तो हुनुपर्नेस बदलिएको चुनौतीलाई सामना गर्न सक्नेगरी कांग्रेस पार्टी संगठनको सुदृढीकरण र नयाँ संरचना अनुसार कांग्रेसको विधान कस्तो बन्नुपर्छ भन्ने विषयमा देशव्यापी रुपमा छलफलका लागि सर्कुलेसन पठाएका थिए। कोइरालाले ती विषयबारे बैठकलाई जानकारी गराएको शर्माले जनाए।
यसैगरी, कांग्रेस केन्द्रीय समिति बैठकले डा उपेन्द्र देवकोटाको निधनप्रति श्रद्धाञ्जली दिँदै शोक प्रस्ताव पारित गरेको छ।
प्रवक्ता शर्माले भने, ‘डा देवकोटाको निधनले नेपाली स्वास्थ्य क्षेत्र मात्र होइन सिंगो देशलाई नै क्षति पुगेको छ। हामीले उहाँको आत्माको शान्तिको कामना गर्दै १ मिनेट मौनधारण गर्यौं।’
पार्टी जिल्ला कार्यालय मकवानपुरमा ४ बजे बस्ने भनिएको बैठक सभापित शेरबहादुर देउवा आउन ढिलाइ हुँदा साँझ ६ बजेपछि मात्र बैठक बसेको थियो।
कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला भोलिदेखि हेटौंडामा सुरु हुँदैछ। भेला ३ दिन चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।