काठमाडौं– कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रसर उद्योगलाई कारबाही गरिने भएको छ।
आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव सहितको बैठकले सो निर्णय गरेको हो।
बैठकले सुनसरी, सिराहा, सर्लाही, बारा, पर्सा, नवलपरासी लगायतका जिल्लाहरुमा उखुको रकम भुक्तानी नगरेको भनी उजुरी परेकोमा प्रमुख जिल्ला अधिकारीले उद्योगीहरुलाई बोलाइ छलफल गरी तत्काल कृषकको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।
उद्योगीहरुले तत्काल कृषकको रकम दिन नमानेमा कानुन कमोजिम कारबाही गर्ने सम्बन्धमा राय सहित सात दिनभित्र गृह मन्त्रालयमा सिफारिस गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई बैठकले निर्देशन दिएको छ।
यसैगरी बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई सञ्चालन अनुमति दिने निकायहरु खानी विभाग, घरेलु तथा साना उद्योग कार्यालय, तत्कालिन जिल्ला विकास समिति, स्थानिय तहहरुले अनुमति दिए अनुसार क्रसरको प्रकृति, मापदण्ड पुगे नपुगेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयहरुले जिल्लास्थित कार्यालयहरुसँग समन्वय गरी पाँच दिनभित्र सोको विवरण गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।