काठमाडौं– सत्ता पक्षकै सांसदहरुले बजारमा कृत्रिम मूल्य वृद्धि हुँदा सरकार किन मौन बसेको भनी प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने नेकपामा सांसदहरु अमनलाल मोदी, खगराज अधिकारी लगायतले बजेटपछि भएको मुल्य वृद्धिका बारेमा अनुगमन नगरेको भनी प्रश्न उठाएका हुन्। उनीहरुलाई विपक्षीका सांसदहरु अमरेशकुमार सिंहले पनि साथ दिए।
सत्तापक्षका सांसद मोदीले दैनिक उपभोग्य मूल्यका चरम अभाव र मूल्य वृद्धि भइरहँदा सरकार कहाँ के गरिरहेको छ? भन्दै प्रश्न गरे। ‘यसरी कृत्रिम अभावलाई राज्यले नियन्त्रण गर्ने कार्य गरेको देखिएन,’ उनले भने, ‘सशक्त रुपमा अनुगमन होस्।’ मूल्य वृद्धि भएको बारे संसदलाई जानकारी गराउन पनि उनले माग गरे।
अर्का सत्तापक्षका सांसद खगराज अधिकारीले बजारमा दैनिक खाद्य सामग्रीको कृत्रिम अभाव भएकाले त्यसको तत्काल अनुगमन गर्नुपर्ने बताए। उनले सिन्डिकेट तोडिएको भए पनि त्यसमा सकारले थप अनुमगन गर्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकार र व्यापारीको मिलेमतोमा बजारमा कृत्रिम अभाव गराएर मूल्य वृद्धि भइरहेको आरोप लगाए। ‘बजारमा एक्कासि मूल्य वृद्धि भइरहेको छ। यसमा किन अनुमगन भइरहेको छैन?’ उनले भने, ‘सरकार आफै यसमा संलग्न भएकाले अनुगमन नगरेको हो?'
बजेटमाथिको दफावार छलफल पनि जारी छ। मन्त्रालयगत छलफल अन्तर्गत आज संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद र अर्थ मन्त्रालयको विनियोजनमाथि छलफल सुरु भएको छ। हिजोदेखि सुरु भएको छलफल केही दिन चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।