पोखरा– पोखराको वन विज्ञान अध्ययन संस्थानको डिन कार्यालय काठमाडौंमा फर्काउन मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ।
उच्च अदालत पोखराले डिन कार्यालय पोखरामै रहने फैसला गरेपछि त्यसमा पुनरावलोकनको माग गर्दै अध्ययन संस्थानका डिन कृष्णराज तिवारीले सर्वोच्चमा रिट दायर गरेका हुन्। यसअघि डिन तिवारीले त्रिभुवन विश्वविद्यालय कल्याणकारी परिषदको हवाला दिँदै एकलौटी रुपमा डिन कार्यालय काठमाडौं सारेका थिए।
उक्त निर्णय विरुद्ध १५ नं वडा अध्यक्ष प्रकाश पौडेल र पूर्व वडा अध्यक्ष शिवबहादुर बानियाँले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै २०७४ मंसिर ६ गते उच्च अदालत पोखराले संघीय व्यवस्थाको मर्म विपरीत डिन कार्यालय काठमाडौंमा सार्न नहुने फैसला गरेको थियो ।
यसैबीच, सर्वोच्चमा मुद्दा दायर भएसँगै पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ का अध्ययक्ष प्रकाश पौडेलले एक विज्ञप्ति प्रकाशित गरी यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
संस्थानका डिन तिवारीले विगतमा उच्च अदालत पोखराले गरेको निर्णय स्वीकार गरे पनि अहिले एकाएक मुद्दा दायर गर्नुलाई गम्भीर रुपमा लिइएको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।