काठमाडौं– वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीको विस्तृत विवरण पेश नगरे पूर्व र अन्तिम श्रम स्विकृति वितरणमा कडाइ गर्ने काठमाडौंको ताहाचालस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत श्रम कार्यालयले जनाएको छ।
म्यानपावर कम्पनीले कामदार लिने रोजगारदाता कम्पनीको विवरण, ठेगाना, सम्पर्क नम्बर, इमेल, वेबसाइट, मानवअधिकार सुरक्षा र तलब सुविधा प्रस्ट नखुलाए पूर्व श्रम स्वीकृति जारी नगरिने कार्यालयले जानकारी दिएको छ।
कार्यालयले श्रम स्वीकृति वितरणमा आइतबारदेखि व्यवस्थित बनाउने भन्दै कडाइ गरेको जनाएको छ। सरकारले गत बैसाख महिनादेखि रोजगारदाता देशबाट कामदारको ‘डिमान्ड’ ल्याउँदा अनिवार्य रुपमा विदेशमा रहेका कूटनीतिक नियोगबाट भिसा प्रमाणित गरेर ल्याउनुपर्ने ‘डिमान्ड प्रमाणीकरण निर्देशिका’ लागू गरेको थियो। उक्त निर्देशिकामा गरिएका व्यवस्थाअनुसार मात्र श्रम स्वीकृति वितरण गर्ने कार्यालयले स्पष्ट पारेको छ।
उक्त निर्देशिकामा सरकारले कामदार लैजान आवश्यक पर्ने मापदण्ड प्रष्ट खुलाएको कार्यालयका प्रमुख भगिश्वर पाण्डेले बताए। कार्यालयले निर्देशिकाले दिएको अधिकारभित्र रहेर काम गर्ने प्रमुख पाण्डेको भनाइ छ। सरकारले अब जस्तोसुकै विवरणका आधारमा श्रम स्वीकृति जारी नगर्ने उनले प्रस्ट पारे।
कार्यालयले एक सूचना जारी गर्दै श्रम स्वीकृतिका लागि आवेदन दिने संस्थाले ‘डिमान्ड’का विषयमा प्रष्ट खुलाउन सम्बन्धीत निकायलाई आग्रह गरेको छ। व्यक्तिगत रुपमा श्रम स्वीकृति लिँदा पनि फारममा उल्लेख भएका सबै विवरण उल्लेख गर्न र रोजगारदाता कम्पनी अथवा त्यहाँ गरिने कामका बारेमा प्रस्ट पार्न कार्यालयले सुझाएको छ।
यस्ता विवरण प्रस्ट उल्लेख नगर्ने म्यानपावर कम्पनीका निवेदन वा फारम स्वीकार नगरेको कार्यालयको भनाइ छ।
सरकारले निर्देशिका लागू गरेपछि रोजगारदाता देशले नेपाललाई ‘डिमान्ड’ कम छुटाउन थालेको वैदेशिक रोजगार व्यवसायीले बताउँदै आएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने निर्देशिकाले यो क्षेत्रका धेरै समस्या समाधान गर्न सहयोग पुर्याएको बताउँदै आएको छ। निर्देशिकाले नक्कली भिसा, कामदार झुक्याउन प्रयोग गरिने अवैध कामलगायत नियन्त्रण हुने मन्त्रालयको दावी छ।
हाल कार्यालयमा पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि दैनिक २ हजारभन्दा बढी आवेदन पर्ने गरेका छन्। कार्यालयले व्यक्तिगत र संस्थागत गरि दैनिक ९ देखि ११ सय श्रम स्वीकृति जारी गर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।