काठमाडौं– रातिको करिब १० बजेको थियो। झमझम पानी दर्किइरहँदा लैनचौरकी शर्मिला उप्रेतीलाई काँडाघारीस्थित माइतीघर जाने हतारो थियो।
ट्याक्सी बोलाएर घर अगाडि रोकिन्। ट्याक्सीमा एउटा झोला राखेर अर्काे लिन घरमा गइन्। अर्काे झोला लिएर आउँदा ट्याक्सी थिएन। ट्याक्सी लिएर चालक टाप कसिसकेका थिए। यो गत बैसाख १९ गतेको घटना हो।
त्यो झोला हल्काफुल्का थिएन। त्यसमा करिब २३ तोला सुनका गहना थिए। यताउता हेर्दा ट्याक्सी नदेखिएपछि शर्मिलाको होसहवास उड्यो। लगत्तै प्रहरीलाई खबर गरिन्। तर, ट्याक्सी नम्बर पनि उनलाई याद थिएन। तत्काल प्रहरीले ट्याक्सी पक्राउ गर्न सम्भव थिएन।
ट्याक्सीको हुलियाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरले घटनाको अनुसन्धान अगाडि बढायो।
त्यस्तो ट्याक्सी जोरपाटीस्थित एक कम्पनीले चलाउँदै आएको पत्ता लाग्यो। जसका ५४ वटा ट्याक्सी थिए। तर, नम्बर थाहा नभएकाले कसले चोर्यो भन्ने पत्ता लगाउन अझै कठिन थियो।
सोही कम्पनीका ट्याक्सी चालकमध्ये एक जनाले बा २ झ ३७८ नम्बरका चालक शुक्रवीर तामाङले २ तोलाको सुनको सिक्री लगाएको देखेको सूचना प्रहरीलाई दिए। तामाङमाथि नै प्रहरीले शंका गरी अनुसन्धान अगाडि बढायो। उनी २ दिनदेखि कम्पनीमा गएका थिएनन्।
प्रहरीले आफन्तमार्फत उनलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले नै चोरी गरेको खुल्न आएको लैनचौर वृत्तका डिएसपी दीपक पोखरेलले बताए। प्रहरीले चोरीका सुन बिक्री-वितरणमा संलग्न उनका सहयोगीहरु बिजेश तामाङ, चिनलाल तामाङ र लिलानाथ विश्वकर्मालाई पनि पक्राउ गरेको छ।
चोरी भएकोमध्ये करिब ७ तोला सुन पनि बरामद भएको डिएसपी पोखरेलले बताए।
चालक तामाङले चोरेको सुनमध्ये एउटा सिक्री सिन्धुपाल्चोकको बाह्रबिसेस्थित घर अगाडिको रुखको फेदमा गाडेर राखेका थिए।
एक महिना लामो अनुसन्धानपछि चोरीमा संलग्न सबैलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।