काठमाडौं– न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई जन्मघर गोरखा लगिएको छ।
डा देवकोटाकै चाहना अनुसार हेलिकप्टरमार्फत उनलाई गोरखा लगिएको अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले जानकारी दिए।
डा उपेन्द्र देवकोटाले गाउँकै सिस्नेधाराको पानी पिउने इच्छा जाहेर गरेपछि उनलाई गोरखा लगिएको हो। उनलाई जन्मस्थान गोरखा पालुङटार नगरपालिकाको बोहरागाउँमा पुर्याइनेछ। बोहरा गाउँबाट १० मिनेटको दूरीमा रहेको आँपपिपल, पण्डित गाउँमा डा देवकोटाको पुख्र्यौली घर छ।
गाउँको पुरानो सिस्नेधाराको पानी पिएर जन्मघरको पिँढीमा सुस्ताउने इच्छा परिवारलाई जाहेर गरेपछि डा देवकोटालाई जन्मथलो गोरखा लैजान लागिएको उनका भतिज वसन्त देवकोटाले जानकारी दिए।
अस्पताल स्रोतका अनुसार डा देवकोटालाई केहीबेर आँपपिपलस्थित पुर्ख्यौली घरमा राखिने र आजै अस्पताल फर्काइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।